काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
उनका अनुसार रास्वपा संसद बैठकमा सत्तापक्षको बेञ्चमा बस्ने छ । “सरकारलाई विश्वासको मत दिन्छौँ । पहिले जहाँ बसेको हो संसद बैठकमा त्यही बस्छौं”, उनले भनेका छन् ।
गत पुस १० मा प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दा रास्वपाले पनि समर्थन गरेको थियो । पुस १० को सहमतिकै आधारमा रास्वपा पुस ११ मा सरकारमा सहभागि भएको थियो । रास्वपाले गृहमन्त्रीसहित तीन मन्त्री एक राज्यमन्त्री लिएको थियो ।
तर, माघ १३ मा नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्चको फैसलासँगै रवि लामिछानेको नागरिकता मात्रै बदर भएर सांसद र गृहमन्त्री पद पनि बदर भयो । अदालतको फैसलाले लामिछाने बाहिरिए पनि रास्वपाले गृहमन्त्रीमा आफ्नो दाबी राखिरहेको थियो । तर, प्रधानमन्त्री स्वयम् उक्त विषयमा सहमत नभएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । रास्वपाले २२ माघमा सरकार छाडेको थियो । तर, रास्वपाले सरकार छाडेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
यसअघि पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको थियो । नागरिकता विवाद मुद्दामा रास्वाका सभापति रवि लामिछानेको सांसद पद गुमेपछि भने सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएपछि पनि समर्थन भने रास्वपाले कायमै राखेको थियो ।
वि.सं.२०७९ चैत ५ आइतवार १३:३५ मा प्रकाशित