
धुलिखेल । ‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ निर्माणका लागि जिल्लास्तरीय अभियान सुरु गरिएको छ । त्यसका लागि जिल्ला समन्वय सामितिका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा समिति गठन गरिएको छ ।
समितिमा स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँ सदस्यसचिव तथा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहेका छन् । क्षयरोगमुक्त मुलुक निर्माणका लागि यसअघि नै सुरु भएको दीर्घकालीन सोच लक्ष्य रणनीति निर्माण गरी आव २०९१÷९२ मा क्षयरोग अन्त्य र २१०६÷७ सम्म क्षयरोग निवारण गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रम जिल्लामा पनि लागू हुन लागेको हो ।
जिल्लामा रहेका १३ वटै स्थानीय निकाय र सम्बन्धित सरोकारवाला साथै विद्यालय तथा समुदायसँगको सहकार्यमा काभ्रेपलाञ्चोकलाई क्षयरोगमुक्त जिल्ला निर्माण गर्ने समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख गौतमले बताए । क्षयरोगमुक्त जिल्ला निर्माणसँगै अभियानमै जिल्लामा क्षयरोगसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरी क्षयरोग लाग्नै नदिने प्रयासमा रहेको अठोटसमेत गौतमले गरे ।
जिल्लामा चालु आवको फागुन मसान्तसम्म एक सय ७२ क्षयरोगका बिरामी पत्ता लागेको स्वास्थ्य कार्यालयका प्रमुख सेढाईँले बताए । ‘स्क्रिनिङ’ गरिएका बिरामीले बीचमै औषधि छाड्ने प्रवृत्ति रहेकाले अन्य व्यक्तिलाई सर्न सक्ने जटिलता थपिएका सेढाईँले प्रस्ट पारे ।
जिल्लास्थित स्थानीय तहमा समुदायमा क्षयरोग स्क्रिनिङ सुरु गरिएको छ । धुलिखेल र भुम्लुलाई क्षयरोगमुक्त पालिका घोषण गर्ने कार्य प्रारम्भ भइरहेको समेत जिल्ला समन्वय प्रमुख गौतमले बताए ।
सङ्घ सरकारले देशका २५ पालिकामा यो कार्यक्रम सञ्चालन गर्ने योजना छ । त्यसमध्ये काभे्रपलाञ्चोकका समेत केही पालिका परेका छन् । क्षयरोग निवारणका लागि जिल्लास्तरीय समितिपछि पालिकास्तर हुँदै टोलटोलमा पुगेर अभियान सफल बनाउन सम्बन्धित सबैको सहकार्य रहने विश्वास जिल्ला समन्वय समिति प्रमुख गौतमले व्यक्त गरे ।