
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचेभन्दा फरक रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ६२औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए।
उनले १० वर्ष सांसद भइसक्दा आफूले देशबारे सबैकुरा बुझेको जस्तो अनुभव भए पनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको बताए। मन्त्री किरातीले आफू व्यक्तिको परीक्षामा भन्दा युगको परीक्षा चरणमा रहेकाले असफल हुने छुट नरहेको पनि बताए। उनले आफू फेल भए युग र व्यवस्था नै फेल हुने बताए।
नेपालमा धेरै विदेशका कुरा हुने तर स्थानीय सोच र उत्पादनहरूको स्थान नहुँदा पछि परिरहेको बताए।
बेरोजगार भएर मात्रै विद्यार्थीहरू विदेश जाने नगरेको भन्दै नेपालको शिक्षामा नै विष हालेको उनको बुझाइ थियो। विद्यार्थीहरूलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालेको उनले उल्लेख गरे।
मन्त्री किरातीले भने, ‘१० वर्ष सांसद भएर जति बुझेका थिएँ, बुझेजस्तो लाग्थ्यो, मन्त्री भएर कुर्सीमा आएर जे देखेँ, जे देख्दैछु, देश अर्कै रहेछ । अझै अर्को रहेछ । म बस्ने कुर्सी आगोको कुर्सी हो, मैले कुदाउने घोडा बाघको घोडा हो हात्तीको होइन । हामी युगको परीक्षा दिँदैछौँ । व्यक्तिको होइन । हामी फेल भयौँ भने युग फेल हुन्छ । व्यवस्था फेल हुन्छ ।’
मन्त्री किरातीले नेपालमा स्वदेशी सपनालाई मर्न नदिनेगरी काम हुन जरुरी रहेको पनि बताए।