लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदबाट आफूलाई विधान विपरित वर्खास्त गरिएको भन्दै प्रेम गाहामगरले केन्द्रीय अध्यक्ष कुल आचार्यसहित एनआरएनए आइसीसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
एनआरएनए बेलायतको निर्वाचित अध्यक्षलाई गत १३ सेप्टेम्बरमा अवैधानिक रुपमा पत्र पठाएर वर्खास्त गरिएको जिकिरसहित गाहामगरले एनआरएनए अध्यक्ष कुल आचार्य, कार्यकारी अध्यक्ष रबिना थापा, अर्का अध्यक्ष बद्री केसी, महासचिवद्वय डा. केशव पौडेल र गौरीराज जोशी तथा एनआरएनए आइसीसीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।
गाहागमरले आफू विधानसम्मत अध्यक्ष निर्वाचित भएको तर एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यको निर्देशनमा अवैधानिक रुपमा पदबाट वर्खास्त गरिएको भन्दै पत्र पठाएर अपमानित गरेको, मानहानी र बेलायतको नेपाली समुदाय विभाजित गरेको आरोपसहित गत ५ मार्चमा पाटन उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।
गाहा मगरले पूर्वाग्रही ढंगले विधान विपरित काम गरेर एनआरएनए संस्थालाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गरिएपछि मुद्दा हाल्न वाध्य बताएका छन् ।
उनले राष्ट्रिय समिति बेलायतको पब्लिक फण्डबाट संकलित झण्डै ४० हजार पाउण्ड केन्द्रले खाएको, आर्थिक अनियमितता गरेको, अध्यक्ष कुल आचार्यको निर्देशनमा महासचिवद्धयले नक्कली प्रतिवेदन बनाएर आफूलाई अपमानित एवं समाजमा भ्रम फैलाएको एवं बेलायतको एकत्रित समाजलाई भांडेको आरोप समेत लगाएका छन् ।
निवदेकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे, रामेश्वर न्यौपाने र रोशनी पौडेलले वहस गरेपछि उच्च अदालत पाटनले गत फागुन २३ मा विपक्षीका नाममा उत्प्रेषण परमादेश जारी गर्दै निवेदक गाहामगरको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने ? जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत राखी १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
केन्द्रमा मुद्दा दायर भएसंगै यसले गैरआवासीय नेपालीमाझ तरंग पैदा गरेको छ । गाहामगरले आफू परिआए उच्च अदालतबाट सर्वोच्चसम्म जान पछि नहट्ने चेतावनी समेत दिएका छन्
वि.सं.२०७९ चैत १३ सोमवार १७:१९ मा प्रकाशित