काठमाडौं । देशैभरि बिभिन्न सवारी साधनमा प्रयोग हुने नक्कली पार्टपुर्जाको व्यापक कारोबार हुनेगरेको पाइएको छ ।
विभिन्न नाकाहरुबाट अवैध रुपमा भित्राइएका नक्कली पार्टपुर्जाहरुकोे कारोबार भईरहेको सुराकीको आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा अनुसन्धान अगाडी बढाइएको बताईएको छ । अनुसन्धानका क्रममा नक्कली पार्टपुर्जाहरुको कारोबार गर्ने बिभिन्न व्यक्तिहरु पक्राउसमेत परेका छन् ।
पक्राउ पर्नेहरुमा ‘न्यू थ्याङ्क्यु स्टोर’का सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित ‘माँ सलम्बुदेवी अटो स्पेयर’का सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टसका सञ्चालक सतिस शाक्य रहेका छन् ।
त्यस्तै इनरुवा–४ पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर–८ नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोख्रेल र विराटनगर–१ मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहानलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाईएको छ ।
यस्ता नक्ककली पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठुलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुनसक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ ।
वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका सरोकारवालाहरुले बताएका छन । यहि कुरालाई ध्यानमा राख्दै नेपाल प्रहरीद्वारा काठमाण्डौ उपत्यकालगायत देशका मुख्य शहरहरुमा अवैध कारोवारमा संलग्न व्यक्तिहरुको व्यापक खोजी कार्यलाई तिब्रता दिइनुका साथै कारवाहि प्रकृयालाई अगाडि बढाईएको हो । यस प्रकारको कार्यमा कोही व्यक्ति वा संस्थाको संंलग्नता भेटिएमा हदैसम्मको कारवाही हुने व्यवस्था रहेको छ ।