
काठमाडौं । मन्त्रालय भागवण्डा टुंगो लगाउन बसेको सत्ता साझेदारको दोस्रो बैठक पनि असफल बनेको छ । बुधबार अपरान्हदेखि बसेको बैठक भोलि बिहीबार पुनः बस्ने सहमतिमा सकिएको हो ।
जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुन दलले कति मन्त्रालय पाउने भन्ने प्रस्ताव गरेका थिए । तर, उक्त विषयमा सहमति भइसकेको छैन ।
“प्रधानमन्त्रीबाट भागवण्डाबारे प्रस्ताव आयो, त्यसमा छलफल भयो”, श्रेष्ठले भनेका छन्, “तर, दलहरुले अन्तिम निर्णय दिइसकेका छैनन् । भोलि टुंग्याउने सहमति भएको छ ।”
नेता श्रेष्ठले जनाएअनुसार भोलि बिहान बैठक बसेर दिउँसो नै मन्त्रीहरुले सपथ लिनेगरी अगाडि बढ्ने सहमति दलहरुका बीचमा भएको छ ।
कांग्रेसले सात, माओवादी केन्द्रले अहिलेकै संख्यामा मन्त्रालय, जसपा र एकीकृत समाजवादीले दुई/दुई र अन्यले एक/एक मन्त्रालय लिने प्रस्ताव प्रधानमन्त्रीले राखेको श्रेष्ठले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा भने निर्णय भइनसकेको उनले जनाएका छन् ।