
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बाँडफाँटबारे राखेको प्रस्तावमाथि दलहरु करिब सहमत देखिएका छन् । बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको संख्या बाँडफाँटबारे प्रस्ताव राखेका थिए । जसमा दलहरु करिब सहमत देखिएका हुन् ।
प्रचण्डको प्रस्तावमाथि बिहीबार बिहान पनि सत्ता साझेदार दलहरुबीच छलफल भएको छ । जुन छलफलमा आजै साँझसम्म सबै टुंग्याउने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री चितवनबाट फर्किएपछि दलहरुबीच छलफल गरी मन्त्रिपरिषद् विस्तारको काम अगाडि बढ्नेछ । “प्रधानमन्त्रीको प्रस्तावमा करिब सबैजसो सहमत हुनुहुन्छ, हिजोको प्रस्तावमाथि आज पनि छलफल भयो, दलहरु आजै टुंग्याएर जाऊँ भन्नेमै हुनुहुन्छ”, गजुरेलले भनेका छन्, “प्रधानमन्त्री चितवनबाट फर्केपछि सबै टुंगीन्छ ।”
दलहरु संख्यात्मकरुपमा सहमत भएपनि केही मन्त्रालयको विषयमा भने निर्णय भइनसकेको उनले जानकारी दिएका छन् । तथापी, मन्त्रिपरिषद् विस्तारको प्रक्रिया टुंग्याउनेमा दलहरु सहमत भएको उनले बताए । “कुनै पनि कुरामा पूर्ण सहमति भन्ने हुँदैन, मिलेर जाने कुरामा सबै आफैंले भनेको पनि हुँदैन”, उनले भनेका छन्, “सबैलाई समेटेर जानुपर्ने खाँचो भएको कारण सोहीअनुसार सहमति गर्नुपर्छ ।”
बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले संख्यात्मकरुपमा कसले कति मन्त्रालय पाउने भन्ने प्रस्ताव गरेका थिए । जसमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपा दुई/दुई मन्त्रालय पाउने भन्ने छ । यसैगरी लोसपा, नागरिक उन्मुक्ति, जनमतले एक/एक मन्त्रालय पाउने प्रस्ताव छ ।
जसमा कांग्रेसले करिब सहमति जनाएपनि एकीकृत समाजवादी अझै केही असन्तुष्ट देखिन्छ । एकीकृत समाजवादीले सुरुदेखि नै कम्तिमा तीन मन्त्रालय पाउनुपर्ने अडान लिइरहेको छ ।
यता, सरकारमा सहभागि हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी आफैंमा अनिर्णित छ । रास्वपालाई सहभागि गराउँदा कति मन्त्रालय दिने निर्णय भइसकेको छैन ।