
काडमाडौँ । आजदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षामा कतै प्रश्नपत्र आउट भएको छ भने कतै परीक्षा एउटाको अर्कैको प्रश्नपत्र सार्वजनिक भएकाे खबरहरु सार्वजनिक भएका छन् ।
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र १५ मिनेटमै बाहिरिएको थियो ।
धनुषामा आजको अंग्रेजी विषयको परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुगेको छ । आजको अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको थियो ।
धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र बाँडिएको छ । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको थियो ।
यस वर्षको एसईई अन्तर्गत आज बिहान ८ बजेदेखि देशैभर अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा रजिस्ट्रेसन फाराम बुझाएका छन्।
७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् ।