
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार कांग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।
यसैगरी, माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् पुस ११ मा नियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरिएको छ । उनी भौतिक पूर्वाधारबाट गृहमा तानिएका छन् ।
रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, पर्यटनमा सुदन किराती र संघीय प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।
यसैगरी, जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।
एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।
माओवादीको चुनाव चिन्हबाट लडेको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि मन्त्री पाएको छ । नेसपाबाट महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।