सुनील पुरी ‘सुनीत’,काठमाडौँ
मुस्कान
एउटा प्रतीक
फूलको ओठमा
केटाकेटीहरुको लोलीमा
बाल सुलभ बोली
ईश्वरीय देन,
एकातिर
झर्झर झर्झर झरनाहरु
कलकल कलकल खोलाहरु
निरन्तर बहिरहेछन् अमृत छरी
क्रीडारत छन् अवोध केटाकेटीहरु किनारमा
आफु – आफु रमाएर
धुलो – माटो वा हिलोको गन्धलाई बिर्सेर
अर्को तिर
किनाराको जलाशय नित्र
गाउँका गाउँ डुबेका छन्
गाउँका गोरेटोहरु
गजगजा हिलोमा
वर्षा–झरीको वेवास्ता गर्दै
रमाउँछन् केटाकेटीहरु
आ–आफ्नै वर्तमानसित
कमल फूल मग्मगाउँदै,
वर्तमान यो निंद्रामा स्वप्न देख्छ
केटाकेटीहरु भविष्यको कल्पनामा
स्वप्नसंगै चिप्लिन्छन् हिलाम्मे सडकमा
हुरीको गर्जनासंगे भाग्छन् केटाकेटीहरु
डाक्छन् ठुलठुला आवाजले आमा … !
सिसाको घर चर्किन्छ जब
सिसाको ठुक्राहरु सडकको पेटीमा छरिन्छन्
रक्ताम्य पार्न आस्थाका निवस्त्र पाइलाहरु,
के अर्थ छ पूजामा लागेका लामाहरुको ?
वरु बुझौं न हिलोमा चिप्लिएका पाउहरुको अर्थ !
चढाउनै छ भने चढाऊ – भावका अक्षताहरु
– व्यञ्जना गुच्छाहरु
– अनुरागका मालाहरु
ए पूजामा लागेका मान्छेहरु हो !
हिलोमा फुलेका फूलहरु नटिप र फक्रन देऊ !
अविस्वास, भ्रम र कहालिलाग्दा
तिम्रा कल्मष आश्वासनहरुले
ओइलाउन लागेका कोपिलाहरुलाई !
वि.सं.२०७९ चैत १८ शनिवार ०८:२३ मा प्रकाशित