लीलाराज दाहाल,कर्मैया, सर्लाही
१
या त उसले प्रेम गर्न नजानेको हुनुपर्छ
या त प्रेमलाई ठूलो कुरा नठानेको हुनुपर्छ
प्रेमको तलाउ नत्र यसरी सुक्ने थिएन नै
या त उसलाई प्रेमिकाले नछानेको हुनुपर्छ ।
२
आस्था र विश्वास तिनको खण्डित देखिन्छ
साधु र सन्त नै अक्सर दण्डित देखिन्छ
खै कसरी पो अब यो दुनियाँ ईमानले चल्ला
मूर्ख र लठैत पो अचेल खाँट्टी पण्डित देखिन्छ ।
३
साथीहरू सुस्त सुस्त कुरा चलाउँछन्
अलि अलि होइन त पूरा चलाउँछन्
बल्लतल्ल घाउमा खाटा बस्न खोज्छ
हतार हतार पछिबाट छुरा चलाउँछन् ।
४
प्यारको भाषा बोल्दाखेरि कमाल भै जान्छ
तिम्रो मनको बस्तीमा त बबाल भै जान्छ
जति जति जिज्ञासा म यो मेटाउँदै जान्छु
उति उति घुम्ती घुमाउरो सवाल भै जान्छ !
५
साँझमा प्यारको दीप जलाउने कुरा छ
तिम्रै नेतृत्वमा सरकार चलाउने कुरा छ
नजाउ टाढा कतै बस दिलको वरिपरि नै
धेरैपछि आज खुसियाली मनाउने कुरा छ !
वि.सं.२०७९ चैत १८ शनिवार ०८:२५ मा प्रकाशित