
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयक प्रमाणिकरणको स्वागत गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘नेपाल नागरिकता ऐन २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेपछि ‘नेपालको संविधान २०७२’ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको भन्दै एनआरएनएले खुसी व्यक्त गरेको हो ।
‘सम्मानीय राष्ट्रपतिज्यूको यस कदमले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा हामी विश्वस्त छौं,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै विश्वभरी रहेका नेपालीहरुलाई मातुभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्राउन थप दायित्व बोध गरेका छौं । गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस बातावारण तयार गरेको विश्वास लिएका छौं ।’