
ठीक १८ बर्ष अगाडि (२०६२ जेठ १५ मा) मलाई बिराटनगरमा हुँदा डिसेन्ट्री ÷डायरिया क्रोनिक भएर “Reactive Arthritis’ भएको थियो र त्यो हालसम्म कुनै औषधि खान नपर्ने गरि निको भएको थियो ।
बिराटनगर स्थित डा. ज्ञानेन्द्र मान सिं कार्कीको समन्वयमा ‘बिराट नर्सिङ होम’ का सिनियर फिजिसियन डा. पर्बेज कुमारज्यूको सुझबुझपूर्ण Diagnosis मा त्यो उपचार संभव भएको थियो । नयाँ जिवनदान दिनुभएकोमा म सदैव वहाँहरु प्रति आभारी छु । जबकी तत्कालीन कोशी अञ्चल अस्पतालले मेरो बिमार पत्ता लगाउन नसकी काठमाडौ रिफर गरिदिएको अवस्था थियो त्यतिबेला ।
अस्ति जेठ ७ गते देखि म लगातार डिसेन्ट्री/डायरियाबाट पीडित थिएँ । यसैबीच, बिराटनगरमा बिमार भएको ठीक १८ बर्ष पछि अर्थात् २०८० जेठ १५ गते मर्निङ वाकमा जाँदै गर्दा दाहिनेतर्फ पछाडिको हिपको जोर्निमा थोरै पीडा महशुस भयो । तर घर आइपुग्दा सम्म त्यो असह्यभैसकेको थियो । त्यो दिनभर र रातभर दुखेर सुत्न गार्हो भयो । भोलिपल्ट बिहानै नेपालकै टप हस्पिटल र अन्तर्राष्ट्रियस्तरको एकमात्र हस्पिटल भनेर चिनिने (नेपालकै सायद सबभन्दा महंगो पनि होला) हस्पिटलमा गएँ । भए भरको सबै टेष्टहरु गरिए । भोलिपल्ट सबै रिपोर्ट नर्मल आयो र फिजियोथेरापी गर्नुपर्ने सिफारिस सहित घर फर्किएँ । जबकि म त्यत्तिबेला सहिनसक्नु पीडाले गर्दा खुट्टाले हिंड्न नसकेर ह्विल चेयरमा थिए । मैले आजभन्दा १८ बर्ष अगाडिको सम्पूर्ण टेष्ट रिपोर्टहरु र उपचारको एउटा सिंगै फाइल बनाएर राखेको थिएँ र ती सबै कागजपत्र त्यो डाक्टर भनाउँदोलाई देखाए पनि, तर डाक्टरले मेरो समस्याको रिर्पोट बुझेन र बुझ्न पनि खोजेन ।
उ कसरी हुन्छ धेरै बिरामी जाँचेर धेरै पैसा असुल्ने ध्याउन्नमा थियो । मेरो कागजपत्र अध्ययन गर्ने र मेरो कुरा स–विस्तार सुन्ने फुर्सद कहाँ हुनु उस्लाई ?
त्यसपछि मेरो प्रिय साथि पर्शुरामजीको छोरी डा. चन्दा कार्कीको सल्लाह अनुसार कलंकीस्थित नेपाल नेसनल हस्पिटलमा प्रा. डा. रोहित पोख्रेलको टिमको सम्पर्कमा पुगें । वहाँले मेरो बिमारका बारेमा सुन्ने बित्तिकै र १८ बर्ष अगाडिको रिर्पोट हेर्ने बित्तिकै यो Enteropathic Arthritis हो भनेर उपचार शुरु गर्नु भयो र सम्पूर्ण टिमको सहयोग र समन्वयमा मेरो उपचार सफल हुन पुग्यो । यो क्रोनिक डायरिया वा डिसेन्ट्रीको कारणले (खासमा फुड प्वाजनिङको कारण) हुन सक्ने रहेछ । यदि यो बिमारको समयमै उपचार नगरेको भए मैले ठूलो दुर्घटना भोग्नु पर्ने रहेछ । तर आज म सकुशल घर फर्किंदै छु र अब १ हप्ता बेड रेष्टमा बसेर पूर्ण निको हुदैछु ।
अत; माथिको गन्थन पछि बुझ्नु पर्ने कुराहरू यी हुन्
(१) पहिला शुरु महंगो हस्पिटलमात्र राम्रा हुन्नन् । ठीकै हस्पिटलमा पनि राम्रा डक्टरहरु हुन सक्छ्न् ।
(२) रोग निदान भन्ने कुरा यति महत्त्वपूर्ण हुन्छ कि त्यो नै गलत भएमा सम्पूर्ण उपचार गलत भै बिरामीको महत्वपूर्ण समय खेर गै भयावह अवस्था आउन सक्छ ।
(३) सही डाक्टरहरु इश्वर समान हुन् भने नजान्ने र गलत सर सल्लाह दिने डाक्टरहरु राक्षस सरह हुन् । आफ्नो रोगको निदान सही भएन भने राक्षसलाई कुरेर नबसौं, इश्वर खोज्न पट्टी लागि हालौं ।
(४) आफ्नो रोगको रिर्पोट सुरक्षित राखौं ।
आज ७ दिनको हस्पिटल बसाईबाट निको भएर घर फर्कंदै गर्दा मेरो उपचारमा खटिनु हुने प्रा. डा. रोहित पोख्रेल, डा. दिपक खड्का, मेरी प्यारी भतिजी डा. चन्दा कार्की (साथी पर्शुराम कार्कीजीको छोरी) लगायत नेपाल नेसनल हस्पिटल, कलंकीका सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
साथै, मेरो सेवामा अहोरात्र खटिने मेरी धर्मपत्नी, छोराहरू, अनि अस्पतालकै बेडमा भेट्न आएर तथा आ–आफू रहेको ठाउँबाट फोन, मेसेज र सामाजिक सन्जालको माध्यमबाट मेरो मनोबल बढाई शिघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने मेरा हजारौं प्रियजनहरुमा हृदयभरीको आभार व्यक्त गर्दछु ।