
काठमाडौं । पोखराको फेवातालमा आगामी असार आठ र नौ गते नेपाल चाइना फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) सँगको सहकार्यमा सो फेस्टिभल हुन लागेको हो ।
बिहीबार काठमाडौंस्थित मेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल र चीनबीच अत्यन्त नजिकको भौगोलिक निकटता रहँदै आएको बताए । पुरातन समयमा चिनियाँ प्रख्यात भिक्षु फक्सियान र सुआन्जाइले बुद्धको पूजा गर्न हजारौं माइलको यात्रा गरी नेपाल आएको उदाहरण दिँदै उनले भने ‘नेपाली प्रसिद्ध शिल्पकार अरनीकोले चीनको प्रसिद्ध सेतो प्यागोडाको डिजाइन र निर्माण गरेका थिए । यी अनन्त कथाहरुले दुई देश र जनस्तरमा लामो समयदेखिको र गहिरो मित्रता थियो भन्ने पुष्टि गर्दछ ।’
नेपालको पर्यटनमा चीन मुख्य पर्यटकीय स्रोत रहेको उनको भनाइ छ । कोभिङ १९ अघि नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी पर्यटक चीनबाट आएको रेग्मीले जानकारी दिए । कोभिडपश्चात पर्यटकको संख्या घटेपनि प्रोटोकल पछि चीनले नेपाललाई पनि खुला गरेकोले पछिल्लो दिनमा नेपालमा आउने पर्यटकको संख्यामा वृद्वि हुन थालेको उनको भनाइ छ । सन् २०२३ को में महीनामा नेपाल आउने पर्यटकमा भारत अमेरिका पछि चीन तेस्रो स्थानमा रहेको उनले जानकारी दिए ।
दुई देशबीच रही आएको सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझै सुमधर बनाउन तथा नेपालमा चीनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना फेस्टिभलको आयोजना गर्न लागिएको बोर्डका कार्यकारी अधिकृत डा. रेग्मीको भनाइ छ । साथै आगामी आर्थिक वर्षमा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले बताए । साथै सो फेस्टिभल नेपाल पर्यटन बोर्ड र चिनियाँ दुतावासको मात्रै नभई यसलाई सम्पूर्ण नेपालीले मिलेर सफल बनाउनुपर्ने धारणा रेग्मीको थियो ।
यस्तै चिनियाँ दूतावास, काठमाडौंका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले यस प्रकारको बोट फेस्टिभल ५० भन्दा बढि देश तथा क्षेत्रहरुमा आयोजना हुँदै आइरहको जानकारी गराए । उनले नेपाल र चीन बीच लामो समय देखि सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्ध रहँदै उल्लेख गर्दै यस फेस्टिभले झनै दुई देशको बिचमामो पर्यटनलाई प्रर्वद्धन गर्न सघाउ पुग्ने बताए । उनले यो फेस्टिभल एशियन गेममा समेत सहभागी गराइने जानकारी दिए ।
कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले २ सय मिटर र पछि ५ सय मिटर गरी दुई वटा सेगमेन्टमा ८ वटा वोट रेश प्रतियोगिता हुने उनको भनाइ छ । फेस्टिवलमा नेपालका सातैवटै प्रदेश र चीनबाट आएका प्रतियोगीहरु सहभागी हुने उनले जानकारी दिए ।
प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिने बोर्डले जनाएको छ । कार्यक्रमकै अवसरमा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी रहनेछन् । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर बसेको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि यस कार्यक्रमले सघाउ पुग्ने अपेक्षा रहेको पर्यटन बोर्डले जनाएको छ ।