
काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा ।
भारतले ‘अखण्ड भारत’ भनेर लुम्बिनी, कपिलवस्तु र विराटनगरको नामसहितको नक्शा आफ्नो नयाँ संसद भवनमा राखेपछि नेपालमा त्यसको चौतर्फि आलोचना भएको छ ।
उक्त कार्यको विरोधमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्शा नै राखिसकेका छन् । बालेनले उक्त नक्शा राख्नु भन्दा पहिले ‘हामीले पनि ग्रेटर नेपालको नक्शा किन नराख्ने ?’ भनेर सामाजिक संजालमा लेखेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले पनि आफुले पनि उक्त नक्शा आफ्नो कार्यकक्षमा राख्ने बताएका छन् । साथै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पनि बालेनको उक्त कमदको समर्थन गरेका छन् ।
बालेनले सुगाैली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि धेरै नेपालीको सामाजिक सञ्जालको भित्ता उक्त नक्शाले सजिएको छ ।
सामाजिक सञ्जालमा ग्रेटर नेपालको नक्शाले चर्चा पाइरहेका बेला अभिनेता दीपकराज गिरीले बालेन र अन्यलाई कटाक्ष गरेको पाइन्छ ।
गिरीले सामाजिक संजालमा अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसक्नेले ग्रेटर नेपालको नक्शा राख्ने ? भन्ने रुपमा कटाक्ष स्वरुप भनेका छन्–‘अहिलेको सानो नेपाल त राम्रोसंग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान ? भूंइको टिप्न नखोजौ.भएको लाइ जोगाऔं !!!’
यो विषयमा चलचित्रकर्मीहरु पनि दुई कित्तामा विभाजित भएको देखिन्छ । दीपककै सहकर्मी ‘छक्कापञ्जा’ का निर्माता तथा अभिनेता निर्मल शर्मा भने बालेनलगायतको पक्षमा उभिएका छन् ।
‘नेताहरुमा कमसेकम काठमाडौंका मेयर बालेन शाह जत्तिको बोल्ड, निष्ठावान्, निडर, दूरदर्शी, देशप्रेम अनि परिणाममुखी क्षमता चाहिं भइदिए हुन्थ्यो नि ।’ शर्माले लेखेका छन् ।