
काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटप्रति सत्ता साझेदार एकीकृत समाजवादीले नै विरोध जनाएको छ । कांग्रेस र माओवादी केन्द्रका नेतृत्वले आफ्ना जिल्ला केन्द्रीत बजेट बिनियोजन गरेको भन्दै एकीकृत समाजवादीले विरोध जनाएको हो ।
पार्टी निकट समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेट बिनियोजनमा भएको अन्याय नसहने चेतावनी दिए । “भौतिक पूर्वाधार मन्त्रालय भएको पाँच अर्बमा एक सय १० करोड डडेल्धुरामा, ५५ करोड गोरखामा, ७०/७५ करोड नुवाकोटमा बाँडिएछ”, पाण्डले भने, “पाँच अर्बमध्ये दुई सय ३२ करोड तीन वटा जिल्लामा, बाँकी दुई सय ६८ करोड बाँकी ७४ जिल्लामा बिनियोजन भएर पुस्तक छापिएर आउँदैछ । यस्तो अन्यायपूर्णं गतिविधि कसरी सहने ?”
सरकारले विभेदकारी बजेटमा जनतामा आक्रोश सिर्जना गराएको पाण्डेको भनाई छ । उनले भनेका छन्, “प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्र छ, १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन अवस्था देखिरहेका छौं । यो कुराले जनतामा आक्रोश सिर्जना गराएको छ । सबैले बुझ्न आवश्यक छ, अहिलेका जनता बुझ्ने भइसकेका छन् ।”
पाण्डेले बजेटका कार्यक्रम नसच्याए आवश्यक परे सरकारबाट बाहिरिने चेतावनी पनि दिएका छन् । “हामी विभेदका विरुद्धमा, अन्यायका विरुद्धमा पार्टीभित्रै पनि एउटा असमान व्यवहारका विरुद्ध विद्रोह गरेर आएका हौं । सरकार छाड्न परे परोस्, यो अन्यायलाई सहन हुन्न”, उनले भने, “पार्टी निर्माण पनि यस्ता अन्यायलाई सहेर हुँदैन ।”