
मचिन्द्र खत्री, धरान, सुनसरी
ए!मेघ कालो अब दूर जा जा
मार्दै तँ मान्छे सब भो नखा हा !
बैशाख प्यारो महिना छ घुम्ने
राता गुराँसे वनभीर चुम्ने ।।१
गड्केर सातो किन लिन्छ आज
गर्नैछ बारी अनि खेत काज ।
मुस्लो र झिल्को बिजुली नझारे
सोझा सिधा यी मनुवा नमारे ।।२
गर्लास् कतै त्यो धनुले प्रहार
जोत्ने र खन्ने जनबीच मार ।
हुङ्कार गर्दै किन यो घमण्ड
हो!शक्ति तेरो तँ त छस् प्रचण्ड ।।३
यो वायु ठूलो जब चल्न थाल्ला
उत्पात तेरो अनि गल्न थाल्ला ।
फोडेर कालो चिरफार होला
त्यो शक्ति तेरो जनमाझ रोला ।।४
ज !जा !! भयो यो नगरे घमण्ड
यो चाल तेरो अति भो प्रचण्ड ।
टुट्लास् र फुट्लास् अनि पो रमाऊँ ।
पाए तँलाई कसिलो समाऊँ ।।५
हान्ने चट्याङे बिजुली छ बाण
उन्माद ठूलो किन हुन्छ सान ।
होस् वीर भन्ने किन ठान्नु मैले
ए ! मेघ कालो कति मान्नु मैले ।।६
मारिस् कतै ती निमुखा र सोझा
धामी र झाँक्री बिजुवा र ओझा ।
जोत्दै गरेका अनि खेत खन्ने
ज्यादै मरे ती कति व्यक्ति गन्ने ?।।७
छन्द : इन्द्रवज्रा