
ओमकुमारी बन्जारा रानाभाट
सामाखुसी, काठमाडौं
यति धेरै किन प्यारा छोराछोरी हुन्छ्न होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला ।।
छोराछोरी दायाँ बायाँ यो मन त्यसै खुसी हुन्छ
छोराछोरी भन्दा ठूलो साँच्चै अरू नाता कुन छ
अन्तरमनको मेरो आवाज अन्तर्मुखी सुन्छन् होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला ।।
उनको टाउको दुख्दाखेरि छाती भारी हुन्छ मेरो
कहिल्यै पनि नच्यातिओस् पछ्यौरीको घेरो
मेरी मम्मी कति प्यारी मनमनै गुन्छन् होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला ।।
रुखको पात सुकेसरि भित्रभित्रै म सुकेर
उनकै नाममा दियो बाल्छु ईश्वर सामु म झुकेर
मेरै आयु बढाउन दुबो माला बुन्छन् होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला ।।
जता पुग्छन् उतै पुग्छु आशिर्वाद म बनेर
कहिले घर फर्किआउँछन् भन्दै बस्छु दिन गनेर
हृदयको फूलबारीमा मेरै खुसी चुन्छन् होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला ।।
यति धेरै किन प्यारा छोराछोरी हुन्छ्न होला
मलाई केही भयो भने कति धेरै रुन्छन् होला।।