back

आखिर को हुन हनुमान ?

वि.सं.२०८० असार ५ मंगलवार

240 

shares

विवादित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को दृश्य र संवादलाई लिएर नेपालमा मात्र हैन, भारतमा पनि तनावको अवस्था सिर्जना भएको छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर चलचित्रको प्रदर्शन रोकिएको हो । काठमाडौं महानगरपश्चात चलचित्र आदिपुरुषलाई पोखरा, धरान, वीरगञ्जलगायतका सहरमा समेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन् ।

रामायणबाट प्रभावित भनिएको उक्त फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतक टेलिभिजनसँगको अन्तर्वार्तामा “सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको” विवादित बयान दिएपछि त परिस्थिति झन् तनावग्रस्त बनेको छ । मुन्तशिरको बयान र जानकी भारतीय छोरी भएको संवादको पृष्ठभूमिमा बालेनले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने घोषणा गरेका छन् । आदिपुरुष चलचित्रले रामचरित मानसको राम तथा हनुमानको चरित्रलाई गलत रूपमा चित्रण गरेको तथा धार्मिक भावनामा ठेस पुगेको आरोपसहित भारतमा यस चलचित्रविरुद्ध मुद्दा दर्ता भएको छ । तर, यो लेखमा यही विवादको पृष्ठभूमिमा यसै रामायणमा आधारित रहेर यस कथाका प्रमुख पात्र ‘हनुमानको’ महिमाका बारेमा चर्चा चर्चा गर्ने जमर्को गरिएको छ ।

आखिर को हुन त हनुमान ?

वैदिक सनातन धर्ममा हनुमानको महिमा अतुलनियरूपमा रहेको छ । भगवान श्रीराम र जानकी माताका अनन्य भक्त हनुमानको बल, बुद्धि, विद्या र पराक्रमको महिमा चारै युगमा पनि उत्तिकै महत्वका साथ रहेको पाइन्छ । हनुमानको पूजा आराधनाबाट आयु, आरोग्यता प्राप्त हुनाका साथै यश, कीर्ति पनि फैलिने विश्वास गरिन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्ती मनाउने गरिन्छ भने प्रत्येक मंगलबार र शनिबार हनुमानलाई विशेष रूपमा पूजा गर्ने गरिन्छ ।

महावीर हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाका दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनीको गर्भबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जनी श्रापबाट मनुष्य योनीमा जन्म लिएकी थिइन् । वर्षौंसम्म कुनै सन्तान नभएर गहिरो चिन्तामा परेकी अञ्जनीले भगवान शिवको कठिन तपस्या गरी उनकै बरदान र पवनदेवको आर्शीवादबाट अत्यन्तै तेजस्वी र पराक्रमी पूत्र प्राप्त गरेकी हुन् ।

पौराणिक कथाअनुसार अयोध्याका राजा दशरथको सन्तान नभई गुरु वशिष्ठका सल्लाहबमोजिम उनले श्रृङ्गी ऋषिद्वारा पुत्र कामेष्टि यज्ञ सम्पन्न गराए । यज्ञको प्रभावले स्वयम् अग्निदेव प्रकट भई एक पात्रमा खीरको प्रसाद दिई त्यो सबै रानीलाई खुवाउन आग्रह गरे । राजा दशरथका तीन रानीहरु कौशल्या, सुमित्रा र कैकयीले राज महलको अट्टालिकामा आशन गरेर प्रसाद ग्रहण गर्नै लाग्दा अकस्मात एक चिल आएर एक भाग प्रसाद खोसेर उड्यो र तपस्यारत माता अञ्जनीको सामुन्ने लगेर खसाली दियो । अञ्जनीले पनि भगवानको प्रसाद सम्झी उक्त खीर खाइन् । फलस्वरूप प्रसादको प्रभावले रानी कौशल्याले श्रीरामलाई, सुमित्राले लक्ष्मण र शत्रुघ्न लाई र कैकयीले भरतलाई जन्म दिईन् भने उता अञ्जनीले हनुमानलाई जन्म दिइन् । भनिन्छ, माता अञ्जनीको कठिन तपस्या र भक्तिले प्रशन्न भएका शिवले भगवान विष्णुको राम अवतारको क्रममा उनलाई सहायता गर्नको लागी उपयुक्त अवसर ठानी आफ्नो रौद्र शक्तिले एक अंश पवनदेवको माध्यमद्वारा अञ्जनीको गर्भमा लिन गराए । पवनदेवको आर्शीवादको कारण हनुमानलाई पवन पुत्र पनि भनिन्छ । द्वापर युगमा माता कुन्तीको आह्वानमा भीमसेनले पनि पवनपुत्रको रूपमा जन्म लिएका थिए । हनुमानलाई भगवान शिवको एक अंश एघारौं ‘रुद्रावतार’ पनि भनिन्छ ।

बाल्यकालमा हनुमानको नाम मारुती रहेको थियो । बाल्यावस्थामै एक पटक हनुमानलाई घरमा एक्लै छोडेर माता अंजनी फलफुलको खोजीमा वन तिर गएकी थिइन् । बालक मारुतीलाई भोकले ज्यादै आक्रान्त पार्यो । उनी यताउती भौतारिए तर खानेकुरा केही पनि भेटेनन् । अन्ततः उनको दृष्टि भर्खरै आकाशमा उदाउन लागेको सूर्यमा पर्यो । उनले सूर्यलाई कुनै सुन्दर रातो मिठो फल सम्झेर खान भनि आकाश तर्फ उडी सूर्यको सामुन्ने पुगेर सूर्यलाई आफ्नो मुखमा निले । तत्पश्चात दौडिदै गएर राहुदेवले सबै वृतान्त स्वर्गका राजा इन्द्रदेवलाई बताए । देवराज इन्द्र ऐरावत हात्तीमा चढेर तत्कालै त्यहाँ पुगी बालक मारुतीलाई बज्र पहार गरे । बज्रको चोटले बालकको हनु (चिउँडो) भाँचियो । उनी बहोश भई आकाशबाट पृथ्वीतर्फ झरे र मृतप्रायः अवस्थामा पुगे । यता सूर्य देव पनि बालकको मुखबाट निस्केर भागे । वायुदेवले तुरुन्तै बेहोश बालकलाई बोकेर गुफामा लगेर राखे । आफ्नो पुत्रको त्यस्तो विक्षिप्त अवस्था देखेर वायुदेव अत्यन्तै क्रोधित भई सारा सृष्टिलाई अवरुद्ध हुने गरी आफ्नो बेग बन्द गरे । बायुको बहन रोकिएपछि विश्व ब्रम्हाण्डका समस्त प्राणीहरु त्राहीत्राही हुन लागे । हावा नै नभएपछि श्वास फेर्न नपाएर समस्त प्राणी जगत नै मरणासन्न अवस्थामा पुग्यो । यस्तो विपद्को स्थिति देखेर मानव, देवता, दानवलगायत सम्पूर्ण प्राणीहरु ब्रह्मा समक्ष उपस्थित भई प्रार्थना गर्न लागे । प्राणीहरुको आर्तनाद सुनेर ब्रह्माले अचेत अवस्थामा रहेका बालकलाई स्पर्श गरी शक्ति सञ्चार गरिदिए ।

ब्रह्माको स्पर्शले बालक तन्दुरुस्त, फुर्तिलो र प्रशन्न भएर खडा भए । तत्पश्चात वायुदेव पनि अति प्रशन्न भई आफ्नो बेग पुनः सुचारु गर्न थाले । सारा वातावरण खुशियालीमा नाच्न थाल्यो । त्यहाँ उपस्थित सम्पूर्ण देवताहरु पनि प्रशन्न भएर बालक मारुतीलाई पालैपालो आर्शीवाद र बरदान दिए । देवराज ईन्द्रले आफ्नो बज्रको प्रहारले बालकको हनु भाँचिएको हुनाले यो बालक हनुमान नामले तिनै लोकमा प्रशिद्ध हुनेछन् र मेरो बज्रले उनलाई अब पर्यन्त कुनै असर पर्ने छैन भनी बरदान दिए । त्यस्तै, सूर्यदेवले आफ्नो तेज प्रदान गरी बालकलाई सम्पूर्ण शास्त्रको अध्ययन गराउने जिम्मा लिए । ब्रह्माजीले ब्रह्माज्ञान दिएर बालक हनुमानलाई आफ्नो इच्छाअनुसार जस्तोसुकै रूप धारण गर्ने शक्ति दिनुका साथै ब्रह्मास्त्र र ब्रह्मापाशबाट मुक्त रही दीर्घायू रहने बरदान दिए । कुबेरले गदा प्रदान गरी कुनै पनि युद्धमा हनुमानलाई कसैले परास्त गर्न नसक्ने बरदान दिए । भगवान शंकरले हनुमानलाई कुनै पनि अस्त्रले मार्न नसक्ने बरदान दिए । विश्वकर्माले आफ्ना कुनै पनि शस्त्रले उनलाई असर नपर्ने बरदान दिए । वरुणदेवले दश लाख वर्षको आयू पूरा गरेपश्चात पनि जलको कारण उनको मृत्यु हुन नसक्ने बरदान दिए । त्यस्तै धर्मराज यमले हनुमानलाई कहिल्यै यमराजको शिकार नहुने बरदान दिए ।

हनुमानलाई अहिलेसम्म पनि ब्रह्मचारी मानिन्छ । तथापी उनका एक पुत्र पनि छन् । ब्रह्माचारीको पनि पुत्र हुनुको कारण चाँही जब हनुमान आफ्नो पुच्छरले लंकामा आगो लगाई त्यहाँबाट समुद्रको बाटो हुँदै फर्कदै गर्दा आगोको तापले उनको शरीरबाट पसिना निस्की समुद्रमा खस्यो । त्यही पसीना समुद्रमा बसिरहेकी सिंहिकाले पिइन । जसकारण उनी गर्भवती भइन् र मकरध्वज नाम गरेका पुत्रलाई जन्म दिइन् ।

अहिरावणले राम र लक्ष्मणलाई अपहरण गरेर पाताल लोकमा पुर्याई त्यहाँ देवीको मन्दिरमा भोग दिन लाग्दा त्यस स्थानमा हनुमान पुगी देवीको सामु एउटा र चारै दिशामा बली राखेका चार वटा दियोलाई एकै पटक निभाउन सकेमा मात्र राम र लक्ष्मणलाई बचाउन सकिने रहस्य थाहा पाएर हनुमानले पञ्चमुखी हनुमानको रूप धारण गरी एकै पटकमा पाँच वटा दियो निभाई अहिरावणको त्यहीँ बध गरी राम र लक्ष्मणलाई कैदबाट मुक्त गरिरिए । पञ्चमुखी हनुमानको स्वरूपमा बराह, नरसिंहा, गरुड, अश्व र बानर रूप हनुमान पर्छन् ।

महावीर हनुमानको बल, बुद्धि, विधा, पराक्रम र भक्ति गाथा सर्वज्ञ सर्वत्र पुजनीय र अनुकरणीय छ । बाल्यावस्थामै सूर्यलाई निल्नु, एउटै छलाङ्गमा समुद्र पार तर्नु, राक्षसी माया, लंकिनी, कालनेत्रीलगायत अन्य राक्षसको बद गर्नु यसका ज्वलन्त उदाहरण हुन् । त्यस्तै, हनुमानले अशोक बाटिका उजाडेर अक्षय कुमारको बध गरिदिए, रामको दुत भई लंकामा गएर माता सीतालाई रामको औँठी दिए, विभिषणलाई रामसँग भेटाइदिए, शनि देवलाई लंकामा रावणको कैदबाट मुक्त गरिदिए, हिमालयबाट पर्वत नै उठाई ल्याएर लक्ष्मणको प्राणको रक्षा गरिदिए । सदा श्रीरामजीको आज्ञालाई शिरोधार्य गर्दै उनको सानिध्यमा रही अनवरत शेवा र अटुट भक्ति गरेको हुनाले हनुमानलाई भक्त शिरोमणी पनि भनिन्छ ।

हनुमानले माता जानकी बाट अष्टसिद्धी र नौ निधीको वरदान प्राप्त गरेका थिए भने भगवान श्रीरामबाट कल्पको अन्त्यसम्म यस ब्रह्माण्डमा चिरञ्जिवी भइरहने बरदान प्राप्त गरेका थिए । द्वापर युगमा हनुमानले भीम र अर्जुनको परीक्षा लिई उनीहरुको घमण्डलाई चकनाचुर पार्दै उनीहरुलाई सहायता समेत गरेका थिए । कलियुगमा हनुमानले परम भक्त तुलसीदासलाई दर्शन दिएका थिए । श्रीमद्धागतअनुसार कलीयुगमा हनुमान गन्धमादन पर्वतमा निवास गर्छन् । उनले हावाको रूपमा सबै स्थानमा भ्रमण गरी आफ्ना समस्त भक्तहरुको रक्षा गर्दछन् । संकट मोचन हनुमानले आफ्ना भक्तहरुलाई विभिन्न बाधा बन्धन तथा समस्याहरुबाट बचाउँछन् । नियमितरूपमा हनुमान चालिसाको पाठ तथा भगवान सीतारामको भक्ति गर्नाले रोग, शोक, संकट, भूत–पिशाच, शनि, राहु–केतुलगायत अन्य ग्रहहरुको नकारात्मक प्रभाव हटी सकारात्मक उर्जा प्राप्त हुने, स्मरण शक्ति बृद्धि हुने, मुद्दा मामिला, बन्धन, जेल–नेल, मरण–सम्मोहन, घटना–दुर्घटना, चिन्ता, शत्रु, मायावी जालको प्रभाव तथा दोषबाट मुक्त हुनको साथै परिवारमा सुख शान्ती तथा दिव्य सुरक्षा प्राप्त भई मनोकामनासमेत पुरा हुने गर्दछ ।

लेखकका अन्य लेखहरू

टिकटक : सदुपयोग गर्न जाने वरदान, नजाने अभिशाप !

वि.सं.२०८० असार ५ मंगलवार १२:२० मा प्रकाशित

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

पूर्वको पशुपतीका नामले समेत चिनिने प्रख्यापत धार्मिक तिर्थस्थलको नाम हो...

दशैले जुराएको पूर्वी पहाडको भेटघाट र अनूभुती

दशैले जुराएको पूर्वी पहाडको भेटघाट र अनूभुती

प्रेमलकुमार खनाल, काठमाडौं । यसपटकको दशैमा काठमाडौंबाट जन्मस्थल इलाम गइयो...

नितुको न्यायको लागि परिवारले गरे यस्तो आग्रह

नितुको न्यायको लागि परिवारले गरे यस्तो आग्रह

डाक्टरको गलत उपचारका कारण मृत्यु भएकी भनिएकी २२ वर्षीय नीति...