काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । सत्ता साझेदार माओवादी केन्द्रले सरकार छाडेसँगै अल्पमतमा परेका कार्कीले संवैधानिक व्यवस्थाअनुसार बहुमत पुष्टि गर्न विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लागि प्रस्ताव पेश गर्नेछन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ । तर, सत्तारुढ एमालेसँग ४० र राप्रपासँग छ गरी कार्कीको पक्षमा जम्मा ४६ मत छ । बहुमतका लागि थप एक मतको आवश्यकता पर्दछ ।
प्रदेशसभामा नेपाली कांग्रेससँग २९, माओवादी केन्द्रसँग सभामुखसहित १३, एकीकृत समाजवादीसँग चार र जनता समाजवादीसँग एक सांसद छन् । कुनै पनि दलका थप एक सांसदले सहयोग गरेपनि सरकार टिक्नसक्छ । तर, एमालेको पक्षमा कुनै पनि दलले सहयोग गर्ने अवस्था देखिएको छैन । विपक्षी मोर्चा एमालेविरुद्ध एकजुट देखिन्छ ।
तथापी, कार्कीले मत नपाएपनि सरकार गठनको प्रक्रिया अन्योलपूर्णं छ । कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको हो । यदि कार्कीले मत नपाए स्वभाविक उपधारा ३ बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुनुपर्छ । जसअनुसार पुनः ठूलो दलको हैसियतमा एमालेले नै सरकार गठनको दाबी गर्न पाउँछ ।
तर, यसअघि गण्डकी र लुम्बिनीमा सरकार गठनका लागि पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान भएको थियो । जसआधारमा कोशीमा पनि सोही व्याख्या हुनसक्ने देखिन्छ ।
तथापी, अर्को चुनौतिको रुपमा विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद हुनेछन् । एमालेले सभामुखलाई गणना गर्न नमिल्ने जिकिर गर्दै आएको छ । कार्की नेतृत्वको सरकार ढलेमा कोशीमा सरकार गठन कसरी हुने अन्योलपूर्ण नै देखिन्छ ।
वि.सं.२०८० असार १४ बिहीवार १२:२६ मा प्रकाशित






























