शान्ति भुजेल
आएछ चुनाव यसपाली पनि
नदुखेको घाउ दुखाउन
उकासिन नजान्नेलाई उक्साउन
गहिरो सम्बन्धलाई छुटाउन ।
कहिले नदेखेकोले हात
जोड्न बाध्य बनाएको छ
अपरिचित ब्यक्ति परिचित बन्दैछ
अप्ठ्यारो बाटोमा पनि उ
सहजै हिड़्दैछ ।
अपरिचितलाई काका भन्दैछ
चुनावको बजारमा सबैलाई
आफ्नो ठान्दैछ
कोही बिरानोलाई हितैषी ठानी
धाइरहने भएको छ
कोही आइरहने पनि
दुष्मन झैं टाडÞिएको छ ।
हामी मान्छे
बिवेकशील छौं भनी
गर्व गर्छौं
प्रजातन्त्र देशमा बसी
चुनाव जस्तो एक बहूमूल्य
जन्मसिद्ध अधिकार
खसाल्नलाई पर–परामर्शमा
हर्षको प्वाँख उचाल्छौं ।
चुनावको नाममा ब्यक्तिगत
छुपेर बसेको इज्जत खोल्छन्
तितो मिठो जम्मै घोल्छन्
च्याप्लुसी घस्नेहरू कुराको
एक पहाड़ पोल खोल्छन् ।
चुनाव हो दुष्मनी मोलेर हुन्न
उक्सिएर कहिले आकाश छुइन्न
चर्को घाममा आँगनमा
सुकाउन फिजाएको बिस्कुन हो
राम्ररी नसुकाए ढ़ुड़ी पर्ने डर
के गर्छौ तिमी गर्व निश्पक्ष छ्न् भनी
खेल्नेले तिमीले पत्तो नपाई
दोक्ला खेलिसकेको छ
अब तिमी खस्न
मात्र बाँकी छ छाँगोदेखि
सुख्खा घाँटी लिएर
एक्लै बाटो किनारमा ।
चुनावको नाममा सधैं हिड़्ने
बाटो बद्लिएको छ
सोझो भएको मुन्टो
बाड़्गो बटारिएको छ
चुनाव त हो क्षणिक यो
स्वतंत्र भएर लड़
जीत तिम्रो अवश्य हुनेछ
मन मुटुमा ढ़ुंगा राखेर हैन
स्वतंत्र हाँसो हाँसेर लड़
जीत तिम्रो अवश्य हुनेछ
तब सम्बन्धले आकाश छुनेछ ।
वि.सं.२०८० असार १६ शनिवार ०८:३२ मा प्रकाशित






























