काभ्रे सेवा समाज, साउदीअरबले मन्जु मैनालीलाई घर फर्कन टिकट उपलब्ध गराएको छ । काभ्रेपलान्चोक, खनालथोक १ घर भएकी श्रीमती मन्जु मैनाली १८ महिना अघी घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी थिइन । कुवेत पुगेको केही दिन पछी उनलाई एक साउदीले साउदीअरबको खाब्जी भन्ने ठाउँमा पु¥याएको थियो । खाब्जीमा एक साउदी नागरिकको घरमा १८ महिना काम गरेपछी उनी चरम व्यबहार सहन नसकेर त्यहाँबाट भागेर साउदी अरबको दम्माम भन्ने शहरमा पुगेकी थिइन ।
दम्माममा रहेका नेपालीहरुको सहयोगमा ५ दिन अघी मात्र मञ्जु नेपाली राजदुताबास रियाद पुगेकी थिइन । राजदुताबासले नेपाल फर्कन सबै प्रकृया पुरा गरेपछि मञ्जुसँग नेपाल फर्कने टिकट नभएपछि दूतावासको सल्लाहमा काभ्रे सेवा समाज, साउदी अरबले एकतर्फी टिकट रियादबाट– काठमाण्डौ लागि साउदी रियाल रु ७४० (ने रु २०,०००) टिकट खरिद गरी सहयोग गरेको छ । उनी आजै २२ अप्रिल २०१७ दिउँसोको एयर अरेबियाको फ्लाइटबाट उनी नेपाल फर्कदै रहेको काभ्रे समाजले बताएको छ ।
हेटौंडाकी लक्ष्मी कुवँर (मोबाइल नं ९८१३६८१४२१ पीडित महिलाले उपलब्ध गराएको, यो सम्पर्क नम्बरमा फोन गरि बुझ्दा आफू लक्ष्मी कुँवर नभएको बताइयो) नामको एक महिला एजेन्टले उनलाई कुवेतमा घरमा काम गर्न भनी १८ महिना पहिले कुवेत पुर्याएकी थिइन । पीडित महिलाले पटक पटक लक्ष्मी कुवँरलाई संपर्क गर्न खोज्दा कहिले मोबाइल स्विच अफ गर्ने गरेको, कहिले मोबाईल नउठाएको र संपर्कमा नै नआएको कुरा बताइन ।
नेपाली राजदुताबास रियादको महिला सेल्टरमा आश्रय लिइरहेका पीडित नेपाली महिलाहरु मध्य मन्जु मैनालीसँग एउटै फ्लाइटमा अरु ४ जना पीडित महिलाहरु फर्कदै छन् । फर्कनेमा निता बस्नेत (काभ्रे, साँगा), सुमित्रा थापा गलामी (बुटवल, हरिया), शोभा राइ (उदयपुर, गाइघाट) , जरिना मिया ( चितवन, गीता नगर) रहेका छन् । यि सबै काठमाण्डौ देखी कुवेत हुँदै साउदीअरब पुगेका थिए ।
वि.सं.२०७४ वैशाख ९ शनिवार ०७:५९ मा प्रकाशित

























