
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले औपाचारिक रुपमा सम्पूर्ण निकायहरुमा कार्यालय स्वचालित प्रणालीकोे आरम्भ गरेको छ ।
कार्यालय स्वचालित प्रणालीको माध्यमवाट अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार,परिपत्र र निर्णयका लागि माथिल्लो निकायहरुमा पेश गरिने कागजातहरु स्वचालित प्रणालीमार्फत सम्पादन हुने भएका छन् । त्रिवि केन्द्रीय कार्यालयमा साउन १ गतेबाटै कार्यान्वयमा रहेको उक्त प्रणालीमा त्रिविका सम्पूर्ण निकायहरु संलग्न भइसकेको र हालसम्म ५२९ वटा युजर आइडी कार्यान्वयमा रहेको बताइएको छ ।
त्रिवि समन्वय महाशाखाको आयोजनामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त वास्कोटाले कीर्तिपुरस्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारीहरुको तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत शुभारम्भ गरेका हुन् ।
उपकुलपति प्रा.डा वास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीवाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गरेका थिए ।
उद्घाटन पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै उपकुलपति बास्कोटाले त्रिविलाई कागजविहिन प्रशासनको रुपमा स्तरोन्नती गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पुरा भएको बताए । उनले प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकोले सेवा प्रणालीलाई थप व्यवस्थित, सृदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा समेत व्यक्त गरेका थिए ।
उनले अत्याधुनिक प्रविधिको प्रयोगलाई वढावा दिई तीव्र गतिको इन्टरनेट सुविधा समेत व्यवस्था गरी सेवाग्राहीलाई छिटो छरितो सेवा मार्फत सन्तुष्ट बनाउन समेत निर्देशन दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले कार्यालय स्वचालित प्रणालीको कार्यान्वयनलाई महत्वपूर्ण प्रशासनिक उपलब्धी भएको भन्दै व्यवस्थित, सरल र समयानुकुल सेवाका माध्यामवाट त्रिविप्रतिको नकरात्मक धारणा परिर्वतन गर्नुपर्ने बेला आएको भन्दै सवै संयन्त्रहरुलाई सक्रियतापूर्वक विद्युतीय प्रणालीको प्रयोग गरी समयमै सवैप्रकारका सेवा दिने वातावरण मिलाउन त्रिवि क्रियाशिल रहेको बताए ।
त्रिविका रजिष्ट्रार प्रा.डा पेशल दाहालले प्रशासनिक जिम्मेवारीमा आवद्ध कर्मचारीहरुमा प्रविधिसम्वन्धी ज्ञान अत्यावश्यक र अपरिहार्य भइसकेको र इच्छाशक्ति भएमा सवै शिक्षक÷कर्मचारीहरुले प्राविधिक सीप सिक्न सक्ने बताए । उनले आफूहरु विश्वविद्यालयमा प्रविधिको प्रयोग वढाउदै लैजाने पक्षमा रहेको र सवै शिक्षक कर्मचारीहरुले आफूलाई समयानुकुल र परिष्कृत हुन तयार रहन समेत अनुरोध गरेका थिए ।
त्रिविले सञ्चालनमा ल्याएको कार्यालय स्वचालित प्रणालीको निर्माण सफ्टेक इन्फोसिस प्रा.लि.ले गरेको हो उक्त प्रा.लिका प्रवन्धक टिकाराम दाहालले दर्ता,चलानी,टिप्पणी र परिपत्र समेत गर्नमिल्ने स्वचालित प्रणालीमा फाइलहरु एकआपसमा अनुवन्ध गर्न मिल्ने र कसरी फाइलहरु एक निकायवाट अर्को निकायमा प्रेषित गरिएको छ भन्ने समेत जानकारी लिन सकिने व्यवस्था रहेको बताए ।
उक्त कम्पनीले तयार गरेको कार्यालय स्वचालित प्रणाली हाल नेपाल सरकार र स्थानीय सरकारका ५ सय वटा कार्यालहरुमा सञ्चालन भइरहेको छन । भदौ १८ गतेबाट सञ्चालित तालिममा हाल कर्मचारी प्रशासन महाशाखा, आर्थिक प्रशासन महाशाखा र कर्मचारी प्रशासन महाशाखाका ३० जना कर्मचारीहरु तालिममा सहभागि भएका छन् भने केन्द्रीय कार्यालय लगायतका अन्य निकायहरुका कर्मचारीहरुलाई क्रमश तालिममा सहभागी गराइने भएको छ ।
कार्यक्रमको संञ्चालन तथा संयोजन समन्वय महाशाखाका निमित्त प्रमुख दिपक तिवारीले गरेका थिए ।