
म एउटा विङ्गरमा वालिङ–स्याङ्जाबाट बुटवलको यात्रा सुरु गरेको थिए । एकाबिहानै भएकोले गाडिमा वालिङ ६ का रिटायर्ड इन्डियन लाहुरे दम्पती र म मात्रै पेसेन्जरको रुपमा थियौ । नौ बजे बुटवल आइपुग्ने शर्त र योजनामा कहिकतै नभुलिकन पाल्पा–बर्तुङसम्म आइपुगियो । त्यतिबेला सम्म कोहिपनि एकापसमा गफ गरेका थिएनौ । पाल्पाबाट गाडी भरियो । पेसेन्जर फुल भएपछि गाडी आफ्नो लयमा अगाडि बढ्यो । त्यसपछि कुरा उठ्यो राजनीतिको, ब्यवस्थाको, नेताको, आचरणको बिबिध ।।
गाडिमा बसेका हामी फरक पेशा ब्यबसाय उमेर अनि शिक्षाका थियौ । रिटायर्ड बुबा मङ्गोल समुदायको हातमा सत्ता आउछ र देश बनाउछ बिदेश नजाउ भनेर कन्भिन्स गर्दै हुनुहुन्थ्यो । दुईजना युवती नानिहरु स्नातक अन्तिम बर्षको रिजल्ट कुरेर बसेका आइएलटिएस तयारी गरेका थिए । उनीहरुको रोष यो देश चलाउने नेता प्रचण्ड, ओली, देउवा र बाबुराम हरुसङ्ग थियो । बिदेशिनु हाम्रो तत्कालको लक्ष्य हो र कहिल्यै नफर्कने गरिजाने सोचमा रहेको बताए ।
गाडिमा अन्य दुईजना श्रीमान–श्रीमती हुनुहुन्थ्यो । त्यसपछि उहाँहरुको पनि तर्क सुरु भयो । श्रीमान वैदेशिक रोजगारीबाट फर्केको अब कहिल्यै नजाने भनेर तर दुईबर्षमा फेरि जाने सोचमा पुगेको बताउनु भयो । उहाँको श्रीमती माध्यामिक तहको लाइसेन्स परिक्षा दिन सङ्गै बुटवल हिड्नु भएको रहेछ । नेपाली बिषयमा एमएड गर्नुभएको उहाँ शिक्षण पेसामा तालीम प्राप्त र सक्षम हुँदाहुँदै पनि जागिर पाउन नसकेकोमा दुःख व्यक्त गर्दै हुनुहुन्थ्यो । उहाले भन्नु भयो, ‘हामी ग्रामीण इलाकामा बस्नेहरूले कुनै नेताको कार्यकर्ता बनेर, घुस खुवाएर र उनीहरुको स्वार्थ पूरा नगर्दिने हो भने कुनै हालतमा निजी जागिर पाइँदैन त्यसकारण मलाई यो देश छाड्नै मन नहुँदा नहँुदै पनि विकल्प खोज्नैपर्ने भो !’ उहाँले अहिले निमावि र प्रावितहको परिक्षा दिदै हुनुहुँदोरहेछ भने माबिको लाइसेन्स परिक्षा दिन हिड्नुभएको रहेछ । उहाँको यो शिक्षक सेवाको अन्तिम तयारी हो अब नभए हिँड्ने हो बिदेशतिर हिँड्ने उहाँको सोँच रहेछ !!
मेरो आडमै अर्को युवा चुपचाप बस्नुभएको थियो । उहाँको घर पाल्पामै रहेछ । तानसेन बस्नुहुने रहेछ । यतिबेला सम्म सुनिरहेको थिए कुनै प्रतिक्रिया जनाउन सकेको थिएन । त्यो उचित पनि थिएन । तर, आडमै बस्नुभएको साथी बोल्न थाल्नुभो उहाँ भन्नुहुन्छ ‘म पेशाले पलम्बर हुँ, म यो काम गर्न थालेको ८ बर्ष भयो, काम राम्रो आउँछ । पहिले–पहिले त अरु कुनै ठेकेदारसङ्ग ज्यालामा काम गर्थे तर अहिले अनुभव र प्रत्यक्ष सम्बन्ध वृद्दि हुँदै गएपछि आफ्नै काम गरेको छु । अन्य चारजना साथीहरू हुनुहुन्छ मिलेर काम लिन्छौं । सबैलाई काम अनुसारको पैसा बाड्छौ, म कुनै हालतमा बिदेश जादिनँ । म सबैलाई यहि भनिरहेको छु । तर, घरमा छरछिमेकीले पनि बिदेश नगएकोमा घुमाउरो व्यंग्य गर्छ्न त्यसले मलाई खासै असर गर्दैन ।’ यतिकुरा उहाँले गरेपछि सबैले आ–आफ्ना तर्क राख्दै अगाडि बढ्यौं ! अब त म पनि बोलौ कि, झै लागेर बोल्न थाले ।
‘साथीहरू यत्रो चर्को कुरा गर्नैपर्छ जस्तो लाग्दैन । हाम्रो देशको यो हालत हुनुमा नेताको र हाम्रो बराबर दोष छ । हाम्रो देशको बौद्धिक जमात युवाजति सबै बिदेश पलायन गराएर यो देशमा भएको प्राकृतिक, खनिज सबै सम्पत्तिको दोहन गर्न ठूलो योजना छ जुन चक्रव्युहमा हाम्रो देशका कर्मचारी, नेता, ब्यापारी प्रयोग भएर हाम्रो बैचारिक धरातलनै ध्वस्त बनाइदिए । आज हामीले बिदेश बिदेश भन्ने अवस्था यहिभित्रको षड्यन्त्र हो यो कुरा राज्य चलाउनेले बुझेनन्, या बुझेर पनि विभिन्न प्रलोभनमा परेर बिक्री भए ! त्यसको असर आज गाउँ सहरमा जताततै परेको छ । हामी नेपालीहरु वैदेशिक रोजगारीमा गर्जोटार्न जाने कुरालाई त्यति नाजायज भन्न सकिन्न तर, आज देशको जनसंख्या मध्ये डाक्टर, इन्जिनियर, नर्स, शिक्षक, वकिल, बैंकर सबै बिदेश जाने लाइनमा छन् । उनीहरु फर्कदैनन् फर्केपनि जवानी उतै सकेर फर्कलान् । यसको असर आम गरिब जनतामा परेको छ । त्यसैले हामी हाम्रो हातमा सीप छ भने यहि प्रयोग गरौं, छैन भने सीप सिकौं । साधारण जीबनशैली बाचौ ! तर देखासिकी गरेर लाखौं ऋणको भारी बोकेर बिदेशको झोला नबोकौ । यहाँ रोजगारी वा ब्यबसाय गर्न सकिएन भनेमात्रै आफ्नो सीपलाई वैदेशिक रोजगारीको रुपमा प्रयोग गरौंला ।
यति बोल्दासम्म सिद्धबाबाको मन्दिर आइपुगियो । त्यसपछि सबै आ–आफ्नै कुरामा केन्द्रित भयौं । अन्त्यमा गाडीबाट ओर्लदा ती रिटायर्ड बुबाले भन्नुभयो, ‘बाबू मैले पनि छोरालाई यहि बसेर केही गर भनिरहेको छु मानेको छैन एकपटक वालिङ आउदा भेटिदिनु पर्यो ।’
‘भेट्न त भेटौला बुबा तर मैले कन्भिन्स गर्न सक्दिन होला !’
यात्रास माप्त !
धेरै प्रश्नहरु अनुत्तरित छन् !