
बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
सायराको सम्झनाले मन हुट्हुटियो । उनले मलाई लेखेको प्रेमपत्र पढ्न थालेँ । जुन प्रेमपत्र लामो समयदेखि डायरीको पानामा च्यापेर सुरक्षित राखेको थिएँ । यो नै मेरो जीवनको पहिलो प्रेमपत्र थियो ।
प्रेमपत्रका ती अमर अक्षरहरु अहिले पनि मसँग प्रत्यक्ष सम्वाद गरिरहेका हुन्छन् । यो प्रेमपत्रले मलाई पाँच दशक उमेर छिचोल्दा पनि मीठो अतीत र वेदनाको भुमरीमा एकैपल्ट धकेल्छ ।
सायरा, दमकबाट इलाम मावल जाँदैगर्दा फिक्कलमा भएको कार एक्सिडेन्ट्मा परेर पच्चीस वर्षकै उमेरमा ईश्वरकी प्यारी भएकी थिइन् ।
त्यो घटनापछि मैले करिब पाँचवर्षसम्म मानसिक समस्याको सामना गरेँ । सायराको मृत्यु भएको दश वर्षपछि आमाबुबाको करमा सावीसँग विवाह गरेँ ।
सावी, सुन्दर र सुशील थिइन् । तर, सायराले मेरो हृदयमा गरेको गहिरो हस्ताक्षर मेट्न उनीपनि सफल भइनन् । मलाई सायराको सम्झनाले पलपल कोपरीनै रह्यो ।
एकदिन मैले अन्तिमपटक सायराको पत्र पढेर च्यात्ने विचार गरेँ । प्रेमपत्रको अन्तिम अनुच्छेद पटकपटक दोहो¥याएँ ।
मेरो दिलको राजा ‘…मेरो हृदयको सिंहासनमा अर्को कुनै पुरुषपात्र विराजमान हुनेछैन । प्रेमका ईश्वर भाकेर !! मेरो तन, मन, वचन तिमीमा समर्पित गर्छु । यसको साक्षी मेरा यिनै अक्षर र रगतको यही हस्ताक्षर हुनेछ । तिमी मेरो दिलको ढुक्ढुकी हौ । तिम्रो दिव्य कवितामय प्रेमपत्र मैले मेरो छातीको भित्तामा जतनले सजाएर राखेकी छु…।’
तिम्री सायरा ।
सायराले अइया अइया… भनेको कारुणीक आवाज कानमा गुञ्जियो । पत्र च्यात्न सकिनँ । हात काँपे । आँखा डब्डबाए । औंलाहरु सायराको हस्ताक्षर सुम्सुम्याउन पुगे । हस्ताक्षरले मलाई नै नियाली रहेझै लाग्यो ।
पत्रलाई अगि जसरी नै जतनसँग पट्याएर सरक्क डायरीको बिचमा राखेँ ।
‘खुट्याउँन सकिनँ,आखिर हस्ताक्षरमा भित्रैदेखि मेरो हृदय हल्लाउने कस्तो अद्भुत शक्ति छुपेको छ ?’
वि.सं.२०८० भदौ २३ शनिवार ०७:४१ मा प्रकाशित