
प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सहकोषाध्यक्षमा पोर्चुगलबाट तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन् ।
संघको आसन्न ११ र्औ महाधिबेशन तथा विश्व सम्मेलनका लागि सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी प्रचारलाई तीव्र पार्ने क्रममा हाल नर्बेको राजधानी सहर ओस्लोमा रहेका छन् ।
एनआरएन पोर्चुगलको अध्यक्ष समेत रहेर काम गरिसकेका गैरे लामो समयदेखि व्यवसाय संचालन गर्दै आएका छन् भने उनी सामाजिक अभियन्ता समेत हुन् । नेपालीहरुको सुख दुःखमा साथ दिएर सामाजिक अभियन्ताका रुपमा समेत परिचित गैरेले आगामी अक्टोबरमा हुने ११ औं महाधिवेशनका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै युरोपका विभिन्न देशमा चुनाव प्रचार–प्रसार अभियानमा सक्रिय रहेका छन् ।
हाल चुनावी प्रचार–प्रसारकै अभियानमा नर्बेको राजधानी ओस्लोमा रहेका उनले त्यसपछि नेदरल्यान्ड लगायतका अन्य देशहरुमा चुनावी कार्यक्रम केन्द्रीत रहने जानकारी दिएका छन् ।
गैरआवासीय नेपाली संघको विधान अनुरुप तीन कोषाध्यक्ष पदका लागि अगामी अक्टोवर महिनामा हुने निर्वाचनमा यूरोपमा मात्र नभएर प्रचार प्रसारको अभियानलाइ अन्य मूलुकमा समेत गर्ने कार्यक्रम तय गरिसकेको गैरेले संसारन्युजलाई जानकारी दिए ।
यस्तो छ घोषणा पत्र
गैरेले आफ्नो घोषणापत्रको पहिलो बुँदामा सबल एनआरएनएका लागि स्थायी रूपमा बलियो कोष निर्माणमा मेरो विशेष पहल र जोड रहने बताएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा संघको कोषलाई फजुल खर्चबाट जोगाएर मितव्ययी र पारदर्शी रूपमा संचालन गर्न मेरो प्रयत्न रहने, तेस्रो नम्बरमा आइसिसी र एनसिसीको कोषको सबलीकरण, आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्षको नेतृत्वमा सबै एनसिसीका कोषाध्यक्ष र सह–कोषाध्यक्ष रहेको एक संयन्त्र गठन गर्न प्रयत्न गर्ने बताउँदै संयन्त्रको बैठक चार महिनामा कम्तीमा एक पटक बस्ने जनाएका छन् ।
त्यस्तै बुँदाम नम्बर ४ मा मध्यपूर्व, युरोप लगायत विभिन्न देशमा गएका श्रमिकहरुको कुनै कारणले निधन हुन गएमा उनीहरूको शव नेपाल पुर्याउने प्रबन्धको लागि अनिवार्य रूपमा नेपाल सरकारले जीवन बिमाको रकमबाट भुक्तानी मिलाउन पहलकदमी गर्ने तथ परिवारले पाउनुपर्ने क्षतिपूर्तिलाई पनि सुनिश्चित गर्न पहल गर्ने बताएका छन् ।
त्यस्तै पाँचौ नम्बरमा विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका बच्चाबच्ची र युवा युवतीहरुलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि एउटा छुट्टै कोषको अवधारणा बनाइ सोही प्रयोजनका लागि मात्र खर्च गर्ने प्रवन्ध गर्न पहल रहने बताएका छन् ।
त्यस्तै “एकपटकको नेपाली सधैंको नेपाली“ भन्ने संघको मुलमन्त्रलाई पूर्ण रूपमा सफल बनाउन सधैं क्रियाशील रहने बु्ँदा नम्बर ६ मा उल्लेख गरेका छन् भने बुम्दा नम्बर सातमा “नेपालीका लागि नेपाली“ भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं सक्रिय रहने प्रतिबद्धता समेत जनाएका छन् ।
वि.सं.२०८० असोज ४ बिहीवार २०:३२ मा प्रकाशित