back

राजमार्गको छेउमा निउरो बेचेर घर खर्च चलाउँदै महिलाहरु

वि.सं.२०८० असोज ५ शुक्रवार

243 

shares

नारायणगढ (चितवन) । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व-पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन् ।

विकसँगै अन्य आठ-दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निउरो बिक्री गर्न थालेकी हुन् । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उनले भनिन् ।

दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । “घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उनले भने, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सजह रुपमा चलेको छ ।” ५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फकिइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उनले भनिन् ।

मासिक रू तीन सयको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, “ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” रू एक सयको निउरो किन्दा रू १० सम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी छिन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला-पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् ।

“अहिले उमेर ढल्किदै गयो । अरु काम गर्न सकिदैन् । दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु”, उनले भनिन्, “सके आफै जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।” आफँैले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो ।

उनले गुनासो पोखिन्, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग रू १० मा चित्त नबुझे फालेर हिँड्छन् ।” सरदरमा दैनिक रू एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् ।

भरतपुर महानगरपालिका-८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएकी छन् । विगत छ महिनाअघि देखि यो पेसामा लागेकी तामाङ आफँै निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउछिन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताइन् । उनले भनिन्, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै प¥यो ।”

पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।
रासस

वि.सं.२०८० असोज ५ शुक्रवार १४:२६ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन (बागलुङ) । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको...

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

गोदाममा थन्कियो एक करोड केजी चिया

गोदाममा थन्कियो एक करोड केजी चिया

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया...