
उर्मिला कोइराला, भक्तपुर
जन्मिएको मझेरी
तपतप तेलसँगै
घामको पहिलोदेखि अन्तिम किरणसम्म
सुस्ताएको पिँढी
ताते ताते आवाजसँगै पहिलो पाइला टेकेको
पटक पटक लड्दै उठ्दै गरेर
यहि आँगनमा खेल्दाखेल्दै त हो
मेरा आँखामा सपनाका पङ्खहरु पलाएका ।
उस्तै छ करेसाबारी
उसैगरी सप्रिएका छन्–
साग, करेला, काक्रा र सिमी
छिमेकीको समेत छाक धान्दै धान्दै
आत्मियता जोगाइरहेछिन् आमाले झैँ भाउजूले पनि ।
उस्तै छ घरमाथिको पाखो
उसैगरी साँचिएको छ
सप्रिएको घास चाडबाडलाई
उसैगरी भरिएका छन् गोठ
दुहुना गाई र बाख्रा पाठाले
ठेकीभरी मोही पारेर बुबाले झैँ
नौनीको धुप हाल्छन् दाजु धुपौरामा
नौनी पगाल्दै आमाले झैँ
घिउ जोगाउँछिन् भाउजू
तिथी र पाहुनाका लागि ।
उसैगरी भित्रिन्छन् आज पनि
टुँडा सहितका जौ
लहलह गहुँ, तोरी र
एकहाते मकैका घोगा
उसैगरी फलिरहेछन् सुन्तला दाना
सुन झैँ सुनौला बनेर ।
उसैगरी जोतिन्छिन् भाउजू
संसार नै मुट्ठीमा सोहोर्छु झैँ गरी
उदयाचलदेखि अस्तयाचलसम्म
देख्नेहरुको नजरमा –
बाघमारा सासुकी बाघमारा बुहारी बनेर ।
फेरिएको त खासै केही छैन
सबै सबै उही र उस्तै छन्
सिवाय गुमेका मेरा बा आमा र
बनेको केवल म टुहुरी न हुँ ।
वि.सं.२०८० असोज ६ शनिवार ०७:१६ मा प्रकाशित