back
CTIZAN AD

कविता : नरोऊ मञ्जरी !

वि.सं.२०८० कात्तिक २८ मंगलवार

2.1K 

shares

कृष्ण बाउसे

नरोऊ मञ्जरी !
तिम्रो आँसुको तातोले बाआमा बिउँझने छैनन्
बेहोस छोरीको होस फर्केर आउँनेछैन
साहस बटुलेर धारोसम्म पुगेनौँ भने
हामी पनि बाँच्ने छैनौँ ।

हिँड, पहिला पानी पिऊँ
बोक्न पनि त सक्नुपर्यो
आफन्तका घाट लैजानु पर्ने
निर्जीव शरीरलाई ।

त्यसपछि
घाइते बहिनीलाई भेट्न जानु नै छ अस्पताल
र सबैभन्दा मूख्य कुरा
जसरी पनि पुग्नुपर्नेछ मनबहादुरको घर
जहाँ कोही पनि बाँकी रहेनन् आँशु बगाउन ।
छिमेकीको नाताले
हामीले नै गर्नुपर्ने भएको छ अब
ती सबैका लागि चीर शान्तिको कामना ।

नरोऊ मञ्जरी !
आफ्नै दुख मात्र सम्झेर पनि
रुन मिल्थ्यो अघि अघि
आफ्नैमात्र स्वार्थ पुरा गरेर पनि
हाँस्न मिल्थ्यो अघि अघि
तर अब त
– धेरैका अधुरा सपनाहरू हामीले नै
पूरा गर्नुपर्ने भएकोले
–गाउँभरिको बालीनालीले हाम्रै
मुख ताकिरहेकाले
– गाइबस्तुले बाँबाँ गरेरे हामीसँगै
गुहार मागिरहेकाले
अनि
– भर्खरै मात्र रोपिएका बारीभरिका
सुन्तलाका बिरुवाहरूले
केवल हाम्रै आशमा हराभरा जीवनको
कल्पना गरिरहेकाले

हामीले कोरामा पसेर
शोक मग्न हुँदामात्र नपुग्ने भएको छ अब
हामीले मृत्युको छायालाई
आफ्नो मनको आँगनबाट
नभगाई नहुने भएको छ अब ।

ऊ हेर त !
तिम्रो अनुहारमा आफ्ना आमालाई
भेटिरहेका ती टुहुरा टुहुरीहरू !
आमाबाट बिछोडिएका बिरालाका ती छाउराहरू !
तिमीले आफ्नो भाग काटेर छरिदिएको
एकगाँस भातका सिताहरू
टिप्न पाउँदा रमाउने ती भँगेराहरू !
तिमीलाई आसालु नजरले हेरिरहेकी
ओथारो बसेकी ती बुढी कुखुरी !
ती पक्कै बाँच्न सक्ने छैनन्
तिम्रो मायाको अभावमा ।

नरोऊ मञ्जरी !
आफ्नोलागि मात्र बाँच्दा पनि हुन्थ्यो अघि अघि
नबाँचे पनि आफ्नै मात्र मृत्यु हुन्थ्यो अघि अघि
तर अब त
भुइँचालोले ताण्डव नृत्य देखाएको
यस भूमिको सेरोफेरोकै लागि
हामीले आफ्नो धुकधुकीलाई
गाँस्न अनिवार्य भएको छ ।

अझ प्रकृतिले आमाको ममता बाँड्ने
सामर्थ्य तिमीलाई नै सुम्पेकीले
तिमीले हाम्रा गुमेका छोरा र छोरीको
आत्माको शान्तिका लागि पनि
आफ्नो पीडाको घैंटोमा दह्रो बुजो लगाएर
अरूकैलागि मात्र भए पनि
बाँच्न अनिवार्य भएको छ ।

 

वि.सं.२०८० कात्तिक २८ मंगलवार १५:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...