काठमाण्डौं । नेपालका प्रमुख ५ दलका सांसदहरु चन्द्रागिरी हिल रिसोटमा जम्मा भएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा आज आयोजना हुने एक अन्तरक्रिया कार्यक्रममा भाग लिन उनीहरु रिसोटमा जम्मा भएका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीका अनुसार संघले गैरआवासीय नेपालीहरुको मताधिकारको अधिकार, एनआरएनए नागरिकता, पिएनओ लगायतका विषयमा सांसदहरु तथा नेताहरुसंग छलफल गर्न लागेको हो ।
हिउँदे अधिवेशन सुरु हुन् केही हप्ता बाँकी रहँदा संघले आफ्ना अजेण्डाहरुका बारेमा सांसदहरुसंग आफ्ना धारणा प्रस्तुत गर्न लागेको हो ।
संघले गैरआवासीय नेपाली नागरिकता लिए पछिका अप्ठ्यारा, विदेशमा रहेका नेपालीहरुको मताधिकार, परराष्ट्र मन्त्रालयमा रहेको गैरआवासीय नेपाली सम्बन्धि विधेयक लगायतका विषयमा सांसदहरुको ध्यानार्कषण गराउन लागेको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका सांसद शंकर भण्डारी, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, नेकपा एमाले सचेतक माधव गर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र गणेश पराजुली, नेकपा समाजबादीका सांसद तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे, नेकपा माओवादीका सांसद माधब सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री ध्रुव बहादुर प्रधान, संविधानसभा सदस्यहरु खिमलाल देवकोटा (माओवादी), राधेश्याम अधिकारी (नेपाली कांग्रेस), संघका संस्थापक महासचिव भिम उदास लगायतका नेताहरु सो अन्तरक्रियामा सहभागी छन् ।
गैरआवासीय नेपाली संघको जारी ९५ औं बैठक तथा कार्यशाला गोष्ठी आजै साँझ समापन हुदैछ ।
वि.सं.२०८० माघ ८ सोमवार ०९:५१ मा प्रकाशित






























