काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा आएको सकारात्मक सुधार र अहिले गरिएको प्रयासबाट पनि छिटै सकारात्मक र गुणात्मक परिणाम आउने बताएका छन् ।
आज सिंहदरबार भएका २ वटा महत्वपूर्ण छलफलहरूमा कालीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनेबारे र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई रूपान्तरकारी बनाउने सम्बन्धी भएको छलफल भएको सरोकार मन्त्रालय, विभाग र निकायहरूलाई प्रष्ट निर्देश गरेको बताएका छन् ।
‘पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै मैले भनेको थिएँ– मेरो तेस्रो कार्यकालको दोस्रो वर्ष सिंहदरबारमा केन्द्रित भई परिणाममुखी काम गर्नेछु । त्यसअनुसार पुसदेखि बिहान १० बजे नै सिंहदरबार आएर सरकारी काममा केन्द्रित हुँदै आएको छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘पछिल्लो १ महिनाको अवधिमा विभिन्न मन्त्रालयहरूसँग छलफल गरी समस्याको गाँठो फुकाउने काम भएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विभाग र कार्यालयहरूसँग नियमित छलफल गरेको छु। एक्सन रूमबाट राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गरी नीतिगत समस्याको सम्बोधनसमेत गर्दै आएको छु। यही नियमित प्रक्रियाअनुसार आज पनि सिंहदरबार २ वटा महत्वपूर्ण छलफलहरू भए, १. कालीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिनेबारे छलफल, २. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई रूपान्तरकारी बनाउने सम्बन्धी छलफल। यी दुबै छलफलमा सरोकार मन्त्रालय, विभाग र निकायहरूलाई मैले प्रष्ट निर्देश गरेको छु– परम्परागत सोंच र औपचारिकताबाट देशको समृद्धि र विकास सम्भव छैन। त्यसका लागि हामी सबैले नयाँ सोच र योजनाका साथ काम गर्नैपर्दछ। त्यसैले प्रक्रिया छोट्याएर परिणाम दिनेगरि काम गरौँ। १ वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रमा आएको सकारात्मक सुधार हेर्दा भन्न सकिन्छ– अहिले गरिएको प्रयासबाट पनि छिटै सकारात्मक र गुणात्मक परिणाम आउनेछ ।’
वि.सं.२०८० माघ ९ मंगलवार १७:०३ मा प्रकाशित






























