मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गरेका छन् ।
सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताईन् । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उनिले बताईन् । “चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन”, उनिले भनिन्, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”
महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन् । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताईन् । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनिले जानकारी दिईन् ।
“यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ”, उनिले भनिन्, “पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताईन् ।
“यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उनिले भनिन् खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताईन् । “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उनिले भनिन् ।
पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।
वि.सं.२०८० फागुन ६ आइतवार ११:०४ मा प्रकाशित






























