काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा संरक्षण र विकासका लागि सबै लाग्नुपर्ने खाँचो औँल्याएका छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा भाषा आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले भाषा संरक्षणका लागि पनि व्यवस्था लोकतान्त्रिक हुनुपर्ने धारणा राखेका हुन् ।
उनले भने, “पञ्चायतकालमा एउटै भाषा एउट भेष, एउटै धर्म एउटै देश भनिन्थ्यो । भाषालाई राष्ट्रिय र राष्ट्र भनेर विभेद गरिन्थ्यो । आज त्यो छैन, प्रदेश र स्थानीय सरकारले मातृभाषालाई कामकाजको भाषाको रुपमा सञ्चालन गर्ने अधिकार छ । यो त्यतिकै आएको होइन । लामो सङ्घर्ष र बलिदानबाट आएको हो ।”
मन्त्री किरातीले लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै व्यवस्थाको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । भाषा समाजको ज्ञान भएकाले समुन्नत समाज निर्माणका लागि यसको संरक्षण र प्रवद्र्धन जरुरी भएको उनले उल्लेख गरे ।
वि.सं.२०८० फागुन ९ बुधवार २२:१७ मा प्रकाशित





























