back
CTIZAN AD

विविध समस्याका बाबजुद पनि अब्बल बन्ने बाटोमा मध्यपश्चिम विश्वविद्यालय

वि.सं.२०८० फागुन १५ मंगलवार

1.3K 

shares

प्रकाश सिलवाल, सुर्खेत । तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँचवर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकसित हुने बाटोमा अग्रसर देखिएको छ ।

कोभिड–१९ महामारीको असर र विभिन्न आन्दोलनको अवरोधका बाबजुद विश्वविद्यालयको नीति नियमन, भौतिक पूर्वाधार विकास, शैक्षिक–प्राज्ञिक उन्नयन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विकास, व्यवस्थापकीय चुस्तता आदि विषयमा छोटो समयमा प्रगति गरेको पाइएको छ ।

सात सङ्काय, ५० कार्यक्रम, २० प्राज्ञिक संस्थान, छ सय शिक्षक–कर्मचारी र १३ हजार विद्यार्थी रहेको १३ वर्षे सो विश्वविद्यालयमा पछिल्लो समयमा कृषि विषयको स्नातक पढाइ हुन थालेपछि विद्यार्थी पढ्दै कमाउँदै अभियानमा जोडिएका छन् । हर्बल उद्योगबाट साबुन, तेललगायत सामान उत्पादन हुन थालेको छ । विश्वविद्यालयले पुँजीगत खर्च शतप्रतिशत गर्न थालेको छ भने पाँच वर्ष अगाडि रु ४० करोड ५९ लाखमा रहेको बेरुजु हाल रु तीन करोडमा झारेको छ ।

पाँच वर्षअघि साढे सात हजार विद्यार्थी रहेकोमा अहिले १३ हजार पुगेका छन् । विश्वविद्यालयको हालको वार्षिक बजेट रु एक अर्ब २० करोड छ । विश्वविद्यालयले कृषि उद्यमशीलतामा विश्वविद्यालय अनुदान आयोगबाट रु २७ लाखको बजेट प्राप्त गरेको छ भने नौ सय सटरबाट वार्षिक रु २५ करोड आम्दानी गराउने योजना कार्यान्वयनमा ल्याएको छ । पाठ्यक्रममा ७० प्रतिशत विश्वस्तर, १० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीयका साथै ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिता अपनाइएको छ ।

विश्वविद्यालयले कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब, एमयु होटेल, हर्बल प्रोसेसिङ युनिट स्थापना गरेको छ भने अनुसन्धान तथा विकास केन्द्र, केन्द्रीय पुस्तकालय, परीक्षा व्यवथापन कार्यालय भवन बनाउन सुरु गरेको छ । यस्तै जैविक तथा जलवायु परिवर्तन प्रयोगशाला, नवप्रवर्तन र उद्यमशीलता केन्द्र स्थपानाजस्ता नवीन कार्यसञ्चालन विश्वविद्यालयको नेतृत्वले गरेको छ । यसबीचमा विभिन्न ३५ विश्वविद्यालय र संस्थासँग सम्झौता भएको छ ।

बिडम्बना, विश्वविद्यालय सम्बन्धन, दरबन्दी र जनशक्ति व्यवस्थापनका विषयमा विभिन्न माग राखेर गत असोज १२ गतेदेखि केही प्राध्यापक र विद्यार्थी सङ्गठनबाट पदाधिकारी र विभागीय प्रमुखका कार्यालयमा भएको तालाबन्दी उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल सकिएर बिदाइ लिने समयसम्म पनि खुल्ने स्थिति छैन । उपकुलपति डा सिंहको कार्यकाल यही फागुन १७ गते सकिँदैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित केन्द्रीय कार्याललयस्थित उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, ग्य्राजुएट स्कुलका डीन कार्यालय, निर्देशनालय, सेवा आयोगलगायतमा तालाबन्दी हुँदा दैनिक प्रशसन र सेवा प्रभावित भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक निकासा अवरुद्ध हुँदा प्राध्यापक एवं कर्मचारीका तलब–भत्तालगायत सम्पूर्ण खर्च निकासमा समस्या आएको छ । तालाबन्दी गर्ने पक्षले राखेका माग विश्वविद्यालयले पूरा गर्न नसक्ने खालका भएको विश्वविद्यालयका पदाधिकारीको भनाइ छ । उपकुलपति सिंहको कार्यकाल सकिने भएकाले उनको सम्मानजनक बिदाइका लागि ताला खोलेर सहयोग गर्न यही फागुन १४ गते रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले सार्वजनिक आह्वान गरे पनि त्यसको सुनुवाइ भएको देखिएन । यसबीचमा विभिन्न मुद्दा–मामिला पनि विश्वविद्यालयले खेप्दै आएको छ ।

यही फागुन ११ गते सर्वाेच्च अदालतको आदेशबाट विश्वविद्यालयले गर्दै आएका सम्बन्धनलगायत कामको निरन्तरता हुन सहजता आएको छ । पाँच महिनादेखि विश्वविद्यालयमा ताला लगाउनेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन, विश्वविद्यालयमा क्रियाशील नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) लगायत सङ्गठन छन् ।

विश्वविद्यालयले पटकपटक वार्ता र आह्वान गर्दै समस्याको समाधान गर्न पहल गरेको छ । उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ । तालाबन्दी गर्नेमध्येका प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सो विश्वविद्यालयका अध्यक्ष गीताराम ढकालले विश्वविद्यालयले बनाएको सम्बन्धनसम्बन्धी कार्यविधिको पालना नभइ आफूखुसी सम्बन्धन दिइएको, दरबन्दी स्वीकृत नगरी जनशक्ति नियुक्ति गरिएको र अन्य गलत कामको विरोधसहित आफूहरुले बाध्यतापूर्वक तालाबन्दी गरेको बताए ।

उपकुलपति प्रा डा सिंह भने आफूहरुले मापदण्ड र विधिभन्दा बाहिर कुनै काम नगरेको र विधि मिच्न र कथित भागवण्डाका आधारमा लाभ लिन नपाएका नपाएकाहरुले अनावश्यक विरोध गरेको जिकिर गरे । नेपाल प्रगतिशील प्राध्यापक सङ्घ, मध्यपश्चिम विश्वविद्यालकका अध्यक्ष रामप्रसाद कँडेलले भने, “अवरोधकाबीच पूर्वाधार र प्राज्ञिक विकासका साथै करिब ३० वटा नीति र कार्यविधि बन्नु तथा तालिम र अनुसन्धानात्मक काम हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।”

विश्वविद्यालयले पाँच सय रोेपनी जग्गामा पाँच तारे होटेल सञ्चालन, कृषि र बायोग्यास उत्पादनआदिका माध्यमबाट रोजगारी सिर्जना गर्न थालेको छ । फूल उत्पादनको हरित घर पनि विश्वविद्यालयले बनाएको छ । कृषि विषयमा अध्ययनरत विद्यार्थी सृष्टि गिरी पढाइसँगै स्वदेशमा रोजगारीको अवसर सिर्जना हुनु सुखद विषय भएको बताउछीन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति शिक्षाविद् प्रा केदारभक्त माथेमा र समाजशास्त्री प्रा चैतन्य मिश्रसहितको टोलीले हालै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, विभिन्न सङ्कायका साथै रामघाटस्थित ग्य्राजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीको अवलोकन गरी पदाधिकारीलाई प्रोत्साहन दिएका थिए ।

शिक्षाविद् माथेमाले मध्यपश्चिम विश्वविद्यालयले गरेको प्रगति र सकारात्मक प्रयासले आफू प्रभावित भएको बताए । माथेमाले विश्वविद्यालय र शिक्षा प्रणालीमा दलीय राजनीति हुन नहुने बताउँदै विश्वविद्यालय सञ्चालन गर्न नेतृत्वमा सोच र त्यसको कार्यान्वयन गर्न सक्ने क्षमता हुनुपर्ने जनाए । प्रा मिश्रले उनले मध्यपश्चिम विश्वविद्यालयको वर्तमान नेतृत्वले गरेको प्रयास र सुधारका कार्य सह्राहनीय रहेको बताउँदै विश्वविद्यालय सुधारका लागि बोर्ड अफ ट्रस्टको व्यवस्था भएमा स्वामित्व र समर्पणभाव सिर्जना हुने विचार राखे ।

सो विश्वविद्यालयमा गत माघ ५ गते पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले भ्रमण गरी कर्णाली बायोडाइभर्सिटि एण्ड क्लाइमेट चेन्ज ल्याब र मोलिक्युलर एण्ड जिनोमिक ल्याब तथा डिजिटल भवनको उद्घाटन गरेका थिए । गत माघ १५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ग्य्राजुएट स्कुल अफ एजुकेशनको प्रशासनिक भवनको उद्घाटन गरेका थिए भने गत पुस ६ गते शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले भ्रमण गरी शिक्षक प्राध्यापकसँग अन्तरक्रिया गरेकी थिइन् । रासस

 

वि.सं.२०८० फागुन १५ मंगलवार १५:१४ मा प्रकाशित

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

मन्त्रिपरिषद् बैठक : निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत

काठमाडौँ । सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली, २०८३ स्वीकृत...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...