बाबुराम न्यौपाने, दमक, झापा
सगरमाथाको कञ्चन पानी
पहाडी नागबेली घुम्ती छिचोलेर
समुद्रको
नुनिलो पानीमा मिसिन्छ
अनि हुन्छ
यी कञ्चन जलकणहरुको
गुणमा परिवर्तन
यही समुद्री
छालहरुको सुसाईमा
हजारौं झरना नदीहरुको
मिश्रित संगीत भरेर
समुद्र
संसारको कालजयी गीत
दुनियाँलाई सुनाइरहेको हुन्छ।
यी अद्भुत गीतका
तिलस्मि रागहरुमा
अनेक गायक गायिकाले
कलाको क्यानभासमा
रङ र अक्षरमा आकार भरेर
रचिरहेका हुन्छन्
सम्पूर्ण मानवजातिको नयाँ गीत ।
युगौंदेखि मेरा कानमा
गुञ्जिरहेका नयाँ गीतहरुमा
म खोजिरहेको छु
सिर्जनाको अन्तिम गीत
तर
भित्र कतै लागिरहेको छ
कोही कसैले पनि
त्यो अन्तिम गीत
कहिल्यै गाउँन नसकोस्
म कदापि चाहन्न
सृष्टिमा
मौलिक सिर्जनाको अन्त्य होस्।
वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:२२ मा प्रकाशित






























