back

लोकतन्त्र प्रवचन र भाषण होइन: पूर्वसभामुख सापकोटा

वि.सं.२०८१ असार ३ सोमवार

420 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र भनेको प्रवचन र भाषण नभई दैनिक विधि र व्यवहारमा झल्कने विषय भएको बताएका छन् । उनले लोकतन्त्रको कुरा सबैले गर्दै आए पनि साँचो अर्थमा त्यसको स्थापित मूल्य, मान्यता र आदर्शप्रति कोही इमान्दार नदेखिएको प्रतिक्रिया दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता सापकोटाले भने, ‘लोकतान्त्रिक आचरणमा देखिनुपर्नेमा त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । सही, गलत, हुने वा नहुने भन्नेमै पनि विचित्र स्थिति छ । प्रियतावादको दबदबा छ ।’

माओवादी जनयुद्धमा भूमिगतरुपमा राजनीतिक फाँटको जिम्मेवारी सम्हाल्दै तत्कालीन वार्ता टोली सदस्यसमेत रहेका सापकोटा विगतमा सञ्चार तथा सूचना प्रविधि र वन तथा वातावरणमन्त्री भई कार्य सम्पादन समेत गरेका नेता हुन् । प्रस्तुत छ, कानुन निर्माण र समसामयिक विषयमा केन्द्रित रही माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको समसामयिक विषयमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंश :

अहिले मुलुकमा भइरहेको राजनीतिक अभ्यासलाई तपाईंले कसरी हेर्नुभएको छ ?

संसद्मा एउटै पार्टीको मात्र बहुमत छैन, त्यसको अनिवार्य परिणति भनेको गठबन्धन सरकार हो । समीकरण फेरिरहेको छ, तर यो जटिलताका बीचबाट पनि गठबन्धनको अभ्यास जारी छ । गठबन्धन संस्कृतिमा हामी धेरै अभ्यस्त छैनौँ । कतिपय राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबैलाई सन्तुलित ढङ्गले लैजान सक्नुपर्छ । कतिपय अवस्थामा पार्टीका स्वार्थ टकराउँदा अस्थिरजस्तो हुन्छ । अर्कातर्फ मुलुकमा अर्थतन्त्रको विषम जटिलताको चुनौतीबीच पनि सरकार ठिकै ढङ्गबाट अघि बढिरहेको छ ।

राजनीतिक दल र सांसदको मुख्य जिम्मेवारी विधि निर्माणमा कार्यसम्पादन कमजोर रह्यो भन्ने आरोपलाई कसरी लिनुहुन्छ ?

संसद्को मुख्य काम गुणात्मक विधि निर्माण हो । तत्कालीन परिस्थितिमा राष्ट्रले निर्धारण गरेको चेतनामा निर्भर रही कानुन तर्जुमा हुन्छ । त्यो आफैँ प्राप्त नभई निरन्तरको सचेत प्रयत्नबाट हुने विषय हो । अहिले संसद्ले प्रभावकारी काम गर्न सकेको छैन । संसद् जीवन्त, गतिशील, जनमुखी हुन सकेन । राजनीतिक परिवर्तनको सर्वाधिक महत्वपूर्ण उपलब्धि भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख राज्य व्यवस्थालाई लिनुपर्छ । संविधानमा लिपिबद्ध गरिएका विचाराधारा, मान्यता र आदर्श स्थापित गर्न राजनीतिक दलभित्र लोकतान्त्रिक आचरण परिस्कृत हुनुपर्नेमा भएको छैन । त्यसको प्रभावका रुपमा कानुन निर्माणमा निकै ढिलो र कमजोरी भएको छ । सदनमा स्तरीय छलफल हुन सकेन । संसद् भनेको देशको आत्मा हो । संसद्ले देशलाई दिशानिर्देश गर्दै सुशासनका लागि शक्तिशाली सन्देश दिनुपर्छ । संसद्ले बहुआयामिक भूमिका खेल्नुपर्छ । अहिले सदनतिरको बहस हेर्दा आशा जगाउने र जनभावना समेट्ने खाले नभई प्रतिक्रियात्मक मात्र छ । सदनको हालको स्थितिलाई बदल्न प्रधानमन्त्री, सभामुख र प्रतिपक्षले यो थलोलाई जीवन्त र जनमुखी बनाउन भूमिका खेल्नुपर्छ ।

अहिले भइरहेको संसदीय प्रक्रियागत झन्झटिलो बहस र खर्चनु परेको समय लागतअनुरुप परिणाम दिन सकेन भनिएको छ, यसमा विगतका अनुभवका आधारमा टिप्पणी गर्नुहुन्छ ?

सविधान संशोधनका कुरा उठाइरहँदा पहिलो कुरा अभ्यास नै राम्रो भएको छैन । छलफलका निष्कर्षलाई कार्यान्वयन गर्न सकिने ढङ्गबाट सदनमा बहस हुनुपर्छ । त्यसमा अलि बढी ध्यान दिनुपर्छ । हाम्रा छलफल र बहस प्रक्रियामुखीभन्दा बढी नतिजामुखी हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलबीच राष्ट्रिय मुद्दामा न्यूनतम् साझा धारणा र दृष्टिकोण हुनुपर्छ भन्ने लाग्छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परिवर्तनका संवाहक भएकाले उनीहरु मिल्दा मात्रै देश र जनहित हुन्छ, तर बेमेल भइरहेको छ किन ?

नेपाली जनताको इच्छा, आकाङ्क्षा र आवश्यकताका आधारमा जनबलमा गणतन्त्र आएको हो । यो बिस्तारै नयाँ दिशाबाट सम्मुन्नतितर्फ अघि बढनुपर्छ । समाजवाद अर्थात् सबैका लागि समृद्धि भन्ने हो । राष्ट्रिय जीवनका हरेक पक्षको खोज र अनुसन्धानको विषय निकै महत्वपूर्ण हुन्छ । त्यसमा पनि सबैभन्दा बढी राजनीतिकर्मीलाई अनुसन्धानलाई अनिवार्य बनाउन आवश्यक छ । नवप्रवद्र्धनको युग छ । त्यसबाट खोज, अनुसन्धान, अन्वेषण भएपछि दार्शनिकी बन्छ । त्यसपछि विचार, सिद्धान्त, दृष्टिकोण, रणनीति, नीति, कार्यनीति, कार्ययोजना हुँदै कार्यक्रम बन्छ । हरेक दलका बेग्लाबेग्लै सिद्धान्त, नीति तथा कार्य नीति हुने भएकाले सबैको समेटेर राष्ट्रिय विचार बन्नुपर्नेमा त्यसखाले साझा दृष्टिकोण बनेन । जो अनिवार्य छ, त्यसमा अझै दल र नेताहरुको ध्यान गएको छैन ।

लोकतन्त्रको कुरा त सबैले गरेका छन्, तर साँचो अर्थमा त्यसको मूल्य, मान्यता र आदर्शप्रति इमान्दार देखिन्न । त्यो व्यवहारमा झल्कनुपर्छ । लोकतन्त्र भनेको प्रवचन र भाषण गर्ने विषय होइन । त्यो दैनिक विधि र व्यवहारमा झल्कनु प¥यो । लोकतन्त्र आचरणमा देखिनुपर्छ, त्यसमा कमी छ । विचार, व्यवहार र सिद्धान्तमा बहस हुनुपर्छ । अहिले प्रियतावादको दबदबा छ । अर्कातर्फ ह्रासवाद अर्थात् के सही, के गलत, के हुने र के नहुने भन्ने विचित्रको स्थिति देखिन्छ । यी सबैलाई ठीक मार्गमा लैजाने भनेको विचारको बहस मात्रै हुन सक्छ । तपाईंहरु अनुशासित हुनुपर्छ भनेर अब विज्ञान र प्रविधिको यो स्तरको चमत्कार भएका बेला चेतनाले मात्रै सबै जनतालाई एउटा मार्गमा लैजान सकिन्छ त्यसको कमी छ ।

क्रान्तिकारी र परिवर्तनकारी सरकारको नेतृत्व छ, तर सुशासन कमजोर, भ्रष्टाचार बढ्दो छ किन भन्ने प्रश्नमा तपाईंको दृष्टिकोण के रहेको छ ?

यसमा राजनीतिक दलका नेता, सरकारको नेतृत्व र कर्मचारीतन्त्रलाई जोडेर हेरिनुपर्छ । उनीहरु राष्ट्रिय सवालमा देश र जनहितमा समर्पित हुनुपर्छ । गणतन्त्र नयाँ हो, हाम्रा संस्कार, संस्कृति, बानी, व्यहोरा, विचार र व्यवहार पुरानै छ । जसरी व्यवस्था परिवर्तन भयो, हाम्रा ती संस्कार परिवर्तन हुनुपर्ने थिए । पुरानाकै असर र प्रभाव परिरहेको छ । त्यो अन्त्य गर्न राज्य सञ्चालक र दलका नेतृत्वमा दूरदृष्टि, इच्छाशक्ति, प्रतिबद्धता आवश्यक छ । राष्ट्रलाई कता लैजाने भन्ने राष्ट्रिय सवालमा सम्भव भएसम्म सबै पार्टीबीच एकता र कर्मचारीतन्त्रमा रुपान्तरणको भावना हुनुपर्छ । रुपान्तरण नभएकै कारण सुशासनमा जति प्रभावकारी भाषण सुनिन्छ, व्यवहारमा त्यति भएको छैन । त्यसका लागि साझा राष्ट्रिय सहमति कायम हुनुपर्छ, त्यसमा सरकारकै तर्फबाट पहलकदमी हुनुपर्छ ।

सङ्घीयताको मर्म भावनाअनुरुप अधिकार विकेन्द्रीकरण तथा प्रदेशको स्वयत्तताका विषयमा उठिरहेको बहसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

मानिसले आफनो इतिहास आफैँले बनाउँछ, तर चाहे जति बनाउन सक्दैन । प्रदत्त परिस्थितिअनुरुप हुन्छ भनिन्छ । अहिले पनि अलि जटिल र पेचिलो परिस्थिति छ । अङ्क गणितलाई पनि ध्यान नदिने हो भने फेरि राष्ट्रलाई अघि बढाउन गाह्रो हुन्छ । राजनीतिक, आर्थिकरुपमा स्थायित्व होस् र व्ययभार नबढोस् भन्ने जनचाहना छ । यो जटिलता छ । जटिलतालाई चिर्दै अघि बढ्नु राजनीतिक नेतृत्वको कुशलता हो । केही आशाका झिल्का देखा पर्छन्, फेरि गोलचक्करमा गुमेको जस्तो देखिएको छ । संसद्मा भएका प्रमुख दलका बीचमा साझा न्यूनतम् कार्यक्रम बनाएर बाँकी अरू दलसँग पनि राष्ट्रिय दृष्टिकोण बनाउने कुरा महत्वपूर्ण हो । भू–राजनीतिक अवस्थाले इतिहासमा कहिल्यै नभएको आवश्यकता अहिले भएको छ । यसका माध्यमबाट जनतामा आशा दिलाउने कार्य गर्न सकियो भने राम्रो हुन्छ । अलिकति भएकै कामलाई स्थापित गर्न पुगेको छैन, अलिकति नयाँका लागि पहल कदमी बढाउनुपर्छ ।

सभामुखको निष्पक्षताको भूमिकालाई लिएर बेला-मौकामा कुरा उठ्दै आएको छ, तपाईं पनि सभामुख हुनुभयो, परिस्थितिले त्यस्तो हो कि उठेको विषय सही हो ?

व्यक्ति विशेषको भूमिकामा टिप्पणी गर्नु त्यति सान्दर्भिक र वाञ्छनीय हुँदैन । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये व्यवस्थापिका नै सबैभन्दा महत्वपूर्ण छ, सबैकुरा त्यहीँबाटै निर्देशित हुन्छन् । सभामुख भएपछि नियमावली पल्टाउँदा असीमित अघिकार देख्दा अचम्म लाग्यो, तर सभामुखको भूमिका भनेको छलफल, बहस, संवाद, समझदारी र सहकार्यका लागि दलहरुबीचमा समन्वय गर्न सक्यो त्यति नै राम्रा हुने देखेँ । स्वतन्त्र, निष्पक्ष र तटस्थ भूमिकाका साथ प्रस्तुत हुनु सक्नुमा नै सभामुखलाई बल प्राप्ति हुने भएकाले त्यसबाटै पहलकदमी लिन सक्नुपर्छ । सबैतिरका गतिविधिलाई सभामुखले मात्रै अवलोकन गर्न सक्छ, समग्र परिस्थितिलाई ठोस विश्लेषण गरी तत्काल विवेक र चेतना प्रयोग गरी उचित वातावरण बनाउन भूमिका खेल्नुपर्छ । राष्ट्रको अधिकतम् हितका लागि राजनीतिक निर्णय पनि लिनुपर्ने हुन्छ । सभामुखले प्रदत्त परिस्थितिअनुसार गर्ने निर्णय, गतिविधि र पहलकदमीमध्ये केहीमा मात्र स्पष्टीकरण दिन परोस् । अधिकांश स्वतः यसकारणले यो निर्णय गरेको होला भनी बुझ्ने हिसाबले कार्यसम्पादन गरिँदा राम्रो होला भन्ने लाग्छ ।

सभामुखजस्तो सम्माननीय पदमा पुगेर काम गरिसकेको व्यक्ति तपाईं फेरि पार्टीमा फर्केर काम गर्न असजिलो भएको छैन ?

यो निकै महत्वपूर्ण प्रश्न छ, मैले यो प्रश्नमा धेरै गम्भीरतापूर्वक सोचविचार पनि गरेको थिएँ । फेरि पनि राष्ट्रलाई योगदान गर्न अलग भएर कि दलमै आबद्धता हुने भन्ने विषयमा दलभित्र भएको छलफल र बहसपछि यो निर्णयमा पुगेँ । हरेक मानिसका आफ्नै मानक हुन्छन् । मुलुकका तीनमध्ये एउटा अङ्गको नेतृत्व गरेँ । जीवन रहेसम्म त्यो प्राप्त अवसरका सम्मान गर्र्ने विषयमा राम्रै सोचेको छु । साझा दृष्टिकोण र वैचारिक विचारलाई प्रभावकारी बनाउन बेग्लै चिन्तन मनन गर्नेभन्दा दलमा रहेर बढी भूमिका हुन्छ भन्ने लाग्यो । मेरो विवेक र चेतनाले त्यो बाटोबाट राष्ट्रका लागि बढी योगदान दिन सकिन्छ भन्ने लागेको छ । हरेक दलमा जस्तै मेरै पार्टीमा पनि समस्या छ ।

पार्टीको आधिकारिक पोजिसनसहित छलफल गर्ने कुरा प्रभावकारी होला कि भनेर हो । सभामुख भएपछि फेरि निर्वाचनमा गइन । विगतमा पार्टीमा एउटा समूह राजकीय काममा जाने अर्काे टोली दलमा काम गर्ने भन्ने थियो । त्यो छलफल त हराएकोजस्तो भएको छ । मैले एउटा दार्शनिकले भनेको कुरा सम्झिएँ-आफैँ नेता बनाउनेभन्दा अरूलाई नेता बनाउने ठूलो कुराका आधारमा एउटा प्रयोग गरेको हुँ । पार्टीलाई रुपान्तरण गर्न विचारको संश्लेषण आवश्यक छ । अहिले संसारभर नै विचारको बहस हराएर गएको छ । त्यो बहसलाई अघि बढाउन र ऊर्जा प्रवाह गर्दै प्रकाश दिलाउन पार्टीमा फर्केर काम गर्ने निर्णय गरेको हुँ ।

विगतमा मुलुककै ठूलो दल भइसकेको तथा राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको दलले फेरि पुरानै ढर्राका राजनीतिक अङ्क गणितमा लाग्नुपर्दा कस्तो अनुभूति हुन्छ ?

अहिलेकै राजनीतिक गोलचक्करबाट जनताको विश्वास हासिल गर्न चुनौती छ । हाम्रो पार्टीले भर्खरै विधान सम्मेलन ग¥यो । विशेष महाधिवेशनतर्फ जानुपर्छ भनेर बहस उठिरहेको छ । तपाईंकै भनाइअनुसार राष्ट्रिय राजनीतिमा सङ्ख्यात्मक हिसाबले पार्टीको नेतृत्वदायी भूमिका कम्जोर देखिएको छ । विगतमा विचारको निकै माथिबाट संश्लेषण गरी महान् अग्रगामी छलाङ मारियो । हामीले २१औँ शताब्दीमा जनवादको विकास भनेका थियौँ, तर पछिल्ला दिनमा त्यसलाई निरन्तरता दिन सकेका छैनौँ । फेरि अब विचारको संश्लेषण अनिवार्य भएको छ । पार्टीले विचारको बहसलाई सघन र घनिभूत बनाउँदैछ । त्यो महान् बहसको प्रक्रियाबाट विशेष महाधिवेशनमार्फत विचारको संश्लेषणपछि फेरि पहलकदमी लिन सकिन्छ । राजनीति भनेको कहिले रसातलमा पुगको जस्तो त कहिले दिग्विजय भएजस्तो हुन्छ ।

राजनीतिमा उतारचढाव, घुम्ती र मोड भइरहन्छ । २०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत आएकामा अहिले ३२ सिट छ । फेरि जनताले उठाएको प्रश्नको एक–एक उत्तर दिँदै समयानुकूल वैचारिक, राजनीतिक, साङ्गठानिक, सांस्कृतिक पुनर्गठनका साथ विज्ञान र प्रविधिको प्रयोग र रुपान्तरण गर्दै अघि बढ्नुपर्छ । युवापुस्तालाई प्रशिक्षित र सङ्गठित गर्न सकियो भने अहिले भुत्तेजस्तो भएको चेतना प्रवाहमा चम्काउन सकिन्छ । फेरि आश्चर्य ढङ्गले पहलकदमी लिन सक्छौँ । अहिले जनतामा डगमगाउन खोजेको जनविश्वासलाई सबल र सुदृढ तुल्याएर अघि जान सकिन्छ, जानुपर्छ । देशको भूराजनीतिक स्थितिका आधारमा जसरी राजनीति अघि बढ्दैछ, निर्माण भइरहेको विश्व दृष्टिकोणका आधारमा राष्ट्रिय दृष्टिकोण बनाएर अघि बढेपछि जनतामा देखिएको चिन्ता र निराशा हटाउन सकिन्छ । अहिलेको उकुसमुकुसप्रति जनताबाट उठेको प्रश्नको हामीले उत्तर दिनपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?

अहिले नयाँ पुस्तामा अतिरञ्जितरुपमा विदेश जाने महत्वकाङ्क्षा बढाइदिएको छ । विदेशमा जोखिम काममा जाँदा मर्ने र मारिने कुरा शत्प्रतिशत सुनिश्चित छ, तर उ नगई छाड्दिन भन्छ र जान्छ । किन त्यस्तो भइरहेको छभन्दा अतिरञ्जित महत्वकाङ्क्षा जगाइदिएको छ, समाजले । एकथरि रोजगारीका लागि जाने अर्काे थरी सम्पूर्णरुपले सेवा सुविधा प्राप्त गरिरहेको पनि विदेश पलायन भइरहेको छ । अध्ययनका लागि विदेश गएका सीप सिकेर स्वदेश फर्कने वातावरण बनाउनुपर्छ । आकर्षण बढाउनुपर्छ । नेपाली बौद्धिक मस्तिष्क बाहिर खर्च भइरहेको छ, त्यसलाई देशमै प्रयोग गर्ने वातावरण बनाउनेमा सबै राजनीतिक दल तथा तह र तप्का लाग्नुपर्छ । देशप्रति चिन्ता र चिन्तन गर्न सबैलाई म अपिल गर्छु कि, सबै नेपालीलाई स्वदेशमै बस्ने वातावरण बनाउन लागि परौँ ।

वि.सं.२०८१ असार ३ सोमवार १५:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD