काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले वर्षौँदेखि किसानलाई दूधको पैसा नदिएर ज्यादती गरेको बताएका छन् ।
उनले किसानले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बेचेको करिब पाँच अर्ब रुपैयाँ पाउन बाँकी रहेको बताए ।
‘किसानले के गर्ने फ्रान्समा जस्तो ट्याक्टरहरू लगेर सडकमा राख्नुपर्ने हो कि गाईबस्तु लेराएर सडकमा छोड्नुपर्ने हो कि, के गर्यो भने न्याय पाउँछन् ?’ बास्कोटाले प्रश्न गरेका छन् ।
उनले किसानहरूले भिख मागेको नभई पसिनाको मूल्य खोजेकाले यो समस्या तन्काएमा सरकारको लोकप्रियता, क्षमता र जबाफदेहितामा पनि प्रश्न उठ्ने बताए ।
सरकार र मन्त्री पटक पटक फेरिँदा पनि किसानको समस्या ज्युँका त्युँ रहेको भन्दै उनले किसानलाई रुवाएर सरकार हाँसेर बस्ने हो भन्ने प्रश्न गरेका छन् ।
एउटै वडामा दूधबापत किसानले छ करोड रुपैयाँ भन्दा बढी लिन बाँकी रहेको भन्दै सांसद बास्कोटाले प्रधानमन्त्री, अर्थमन्त्री र कृषि मन्त्रीसँग जवाफ मागेका छन् ।
दुग्ध विकास संस्थानमा एक अर्ब ४५ करोड रुपैयाँ बराबरको एक हजार एक सय ५२ मेट्रिक टन धुलो दूध र आठ सय ५० मेट्रिक टन मखन मौज्दात रहेको आँकडा सुनाउँदै उनले त्यसलाई बिक्री गर्न सकेमा किसानको पैसा भुक्तानी गर्न सकिने बताए ।
वि.सं.२०८१ असार १३ बिहीवार १४:५९ मा प्रकाशित






























