काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताए । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै एमाले र कांग्रेसको सहमतिको ठोस आधार रहेको बताए ।
सो सहमतिले मुलुकलाई ठिक ढङ्गले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको बताए, सरकारलाई स्थिर बनाउन सकिने बताए । १८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो त भन्दै प्रश्न गरे ।
आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबिच गठबन्धन बनेको उल्लेख गरे । कानुन बमोजिम सुशासन कायम गर्न र विकासका काम गर्न सहमति भएको उनको भनाई थियो ।
यस्तै लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन् ।
‘उहाँका अधिकांश कुरामा हाम्रो विमति छ । अधिकांश कुरामा आफ्ना विचार छन्,’ लेखकले भने, ‘प्रधानमन्त्रीले राखेका कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही पनि गर्ने पक्षमा छैन । किनभने यसले थप कटुता मात्रै पैदा गर्छ ।’
पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु भएकाले आलोचना नगर्ने उनले बताए । प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए ।
वि.सं.२०८१ असार २८ शुक्रवार १४:०० मा प्रकाशित





























