काठमाडौँ । क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत सट्टेबाजीका लागि अवैधरुपमा आर्थिक कारोबारमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त एप प्रयोग गरी अवैध रूपमा आर्थिक कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीको योजनामा यो धन्दा भएको हो ।
उनले गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोइराला, मिलन मिश्रलाई एपको सर्भरको पहुँच दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस अकाउन्ट र सोही खाताहरूमा लिंक भएका १९ वटा विभिन्न बैंकका खाताहरूमार्फत समेतमा अवैध तरिकाले ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अभियुक्तहरूलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
वि.सं.२०८१ असार २८ शुक्रवार १६:३५ मा प्रकाशित





























