निर्मलरमण पराजुली
सामाखुशी, काठमाण्डौ
१.
बाबा आमा अलग भए, स्वर्ग जस्तो घर भाँडी
पारपाचुके गरे आपसमा , भए भरको धन बाँडी
मलाई पनि रोज भन्छन् , बाबा आमा मध्ये एउटा
कसलाई रोजुँ कसलाई , त्यागुँ मुटुभित्र किला गाडी
२.
आमाले अर्कै रोजेर गइन्, बाबा आए अर्कि आमा लिएर
कर्तव्य च्युत भए मेरै भगवान, सडकलाई जिम्मा दिएर
निर्दयी हुनु भो आफ्नै आमा,सौतेनी आमाको के कुरा गरूँ
कस्तो भाग्य लिएर आएछु, बाँच्नु पर्ने सधैँ आँसु पिएर
३.
भोक लाग्दा खाना छैन, छैन बस्ने घर
घाम अस्ताउँछ राती हुन्छ, लाग्न थाल्छ डर
बुबा आमा छैनन् मेरा, मायाँ गरि पाल्ने
मेरा लागि सडक बाहेक, छैन केहि भर
४.
कति पोलें कलिला हात, ईंटा भट्टिमा
पसिनाका धारा उस्तै, पोखें मट्टिमा
बाल अधिकार मेरो लागि, कथा जस्तै छ
रातैभरि रुँदै सुत्छु म, चिसो चट्टिमा
५.
सडक बालक परे म त, भोक लाग्यो भन्न पाउँदिन
जति भोक लागे पनि, खाने कुरा टन्न पाउँदिन
डाक्टरलाई भन्न मन छ , भोक नलाग्ने औषधी दिनू
भोक लाग्दा कैयौँ दिन, जब खाने अन्न पाउदिन
वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:३५ मा प्रकाशित