
भनिन्छ, ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।’ तर, यहाँ हर्किरहेका केही फूलहरुकाबिच मिचाहा पतझर समेत फैलिएकाले वषौँदेखि फूलवारी अशान्त छ । फूलबारीमा रोदन छ । फूलबारीमा उत्पीडन र अन्याय छ । फूलबारीमा संघर्ष छ । मानौँः फूलबारीका फूलहरु ‘जात प्रथा’ नामक क्यान्सरबाट ग्रसित छन् ।
प्रकृतिले सबै फूलहरुलाई समान अधिकार दिएको छ । सृष्टि सञ्चालनका लागि ती फूलहरु स्वतन्त्र रुपमा हुर्कन, फुल्न र फल्न पाउनु पर्छ । तर, मिचाहा पतझर ‘जात प्रथा’ नामक रोग त्यहीबिचमा फैलिएका कारण फूलहरुले अन्याय सहनु परेको छ । केही फूलहरु टुसाउन नपाउँर्दै मरेका छन्, केही फूलहरु ककरीँदै हुर्कने प्रयासमा छन् । केही फूलहरु नफक्रिँदै झरेका छन् । केही फूलहरुका बोट सुकेका छन् । साझा फूलबारीमा फैलिएका पतझर ‘जात प्रथा’ नामक रोगहरुले नेपाली समाज वा साझा फूललबारीलाई कुरुप बनाएको छ ।
फूलबारीमा आफ्नो साम्राज्य विस्तार गरेका पतझर ‘जात प्रथा’ नामक रोगहरु निमिट्यान्न पार्न नेपालमा ऐन कानुन थुप्रै बने । जातीय छुवाछुत विरुद्धको पहिलो कानुन वि.सं. २०२० सालमा बनाइयो । त्यस समयको संविधानले भनेको थियो, ‘कुनै जाती, धर्म र समुदायले मान्दै आएको संस्कार, संस्कृति, चाल, चलन र रितिरिवाजमा खलल पु¥याउन पाइने छैन ।’ त्यतीबेला छुवाछुत विरुद्धको ऐन कार्यान्वनमा संविधानको माथि उल्लेखित व्यवस्था अंकुश बन्यो । फूलहरु फेरि अन्यायमा परे ।
वि.सं. २०६३ (सन् २००६) पछि नयाँ संक्रमणकालीन संविधानले जातीय छुवाछुतलाई स्पष्ट रूपमा गैरकानुनी घोषित ग¥यो । त्यसपछि, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८’ (सन् २०११) संसदबाट पारित भयो । यो ऐनले छुवाछुतलाई फौजदारी अपराधको रूपमा परिभाषित ग¥यो । यसले पीडित फूलहरुलाई न्याय खोज्ने कानुनी आधार दियो । तर, ती ऐन कानुन कडाइका साथ लागु भएका छैनन् । मिल्काइएका कागजका टुक्राहरु जस्तै भएका छन् ।
शिक्षाको अभावले ‘जात प्रथा’ नामक रोग झाँगिएको भनिँदै आइएको थियो । नेपाली समाजमा तिब्र रुपमा शिक्षाको विकास भएको छ । शिक्षा सम्पन्न भएपश्चात पतझर ‘जात प्रथा’ नामक रोगहरु फूलहरुमा रुपान्तरण हुन्छन् भनिएको पनि थियो । तर, पतझर जात प्रथा’ नामक रोगहरु फूलहरुमा रुपान्तरण भएकै छैनन् । उनीहरु भनिरहेका छन् वा बहाना गरिरहेका छन्, ‘हाम्रा मातापिताको अन्त्यपश्चात हामी स्वतहः फूलहरुमा रुपान्तरण हुनेछौँ ।’ उनीहरुका मातापिता पनि त्यही भन्थे बाबुबाजेको अन्त्यपश्चात हामीमा परिवर्तन आउँछ ढुक्क हुनु । मातापिताको मृत्यु पश्चात अथवा शिक्षाको विकास पश्चात पनि उनीहरुमा कुनै बदलाव देखिएको छैन ।
भन्ने गरिएको साझा फूलबारीमा पानी छोइएको निहुँमा गर्भवती महिलाले मरणासन्न हुने गरी कुटपटि सहनु परेको छ । मन्दिर छिरेको निहुमा अमूल्य शरीरको बली चढाउनु परेको छ । चुलो छोएको निहुँमा ज्युँदै गाडिनु परेको छ । अन्तरजातीय विहे गरेको निहुँमा नदीमा बगेर मृत्युवरण गर्नु परेको छ । शिक्षालयमा समेत भेदभाव सहनु परेको छ । कोठाबाट निकालिनु परेको छ । बस्तीबाट उठिवासको नियति सहुनु परेको छ । राज्यका उच्च र महत्वपूर्ण संयन्त्रमा समान प्रतिनिधित्व हुनबाट समेत वञ्चित हुनुपरेको छ ।
कतिपय भन्छन्, ‘जातजातीबिच हुने भेदभाव समाप्त भैसक्यो । हामीहरु रुपान्तरण भएर सुन्दर फूल बनेका छौँ । अब मिलेर बस्ने हो ।’ उनीहरुको भनाइ सतप्रतिशत सही भने होइन । कतिपयमा चेतना पलाएको सत्य हो । साँच्चीकै फूलमा रुपान्तरण भएको पनि सत्य हो । तर, कतिपयको बोली र व्यावहारमा एकरुपता आउन सकेको छैन । गाउँदेखि सहर सम्म ‘जात प्रथा’ नामक रोगले पिल्सिनु परेका फूलहरु आजपनि थुप्रै छन् । प्रमाणः दलित प्रजातिको फूल बनेर आफूलाई प्रस्तुत गर्दा महसुस गर्न सकिन्छ ।
विश्व २१औँ सताब्दीमा छ । नेपाल बाहेकका अन्य मूलुकले विकासमा धेरै फड्को मारेको छ । चार जात छत्तीस वर्णको साझा फूलबारीमा झाँगिएका पतझरहरु अब पनि आफूलाई रुपान्तरण गरेर सून्दर फूल बन्दैनन् भने नेपाल धेरै पछाडि पर्ने वाला छ । इतिहासले यहाँका मालीहरुलाई नराम्ररी धिक्कार्ने छ । फूलहरु अन्यायमा पर्नुको पछाडी मालीहरुको समेत दोष छ । माली भन्नाले राज्य संयन्त्र तथा सार्वजनिक पदधारण गर्नेहरु ।
नेपाली साझा फूलबारीमा झाँगिएको पतझर ‘जात प्रथा’ नामक रोगको जरो उखेल्न अथवा उनीहरुलाई सुन्दर फूलमा रुपान्तरण गर्न सम्पूर्ण सचेत नागरिकहरु जुरुक्कै उठ्नुपर्ने आवस्यकता छ । न्यायप्रेमी समुदाय भन्छन्, ‘आउनुहोस् फूलबारीमा विभेद खेपिरेका फूलहरुको न्यायका लागि अन्तिम पटक संघर्ष गरौँ । फूलहरुले खेपेका अन्याय र अत्यचारको राँको निभाऔँ । छुवाछुत विरुद्धको समरमा गोल्बन्ध हुँदै नेपालको फूलबारीलाई समतायुक्त बनाउने सबैको कर्तव्य हो ।’
पुस्तौंदेखी अछुतको नाममा मिचाहा रोगहरुले केही फूलहरु माथि दमन शोषण गरिरहेका छन् । उनीहरुको एकल प्रभुत्व कायम छ । फूलहरु आज सम्म पनि दबिनुपरेको छ । राज्यका उच्च संयन्त्रमा अझैपनि त्यही पतझर रोगको वर्चस्व छ । प्रकृतिको नियममा कुनै जगत माथिको अन्याय सैह्य हुन सक्ला ? प्रकृति माथिको अन्याय किम्मार्थ सैह्य हुँदैन । न्याय, समानता र सत्यका पक्षधरहरु अथवा स्वयं अन्यायमा परेका फूल आफूलाई परेको समस्याका विरुद्ध एकीकृत हुन आवस्यक छ ।
यो अन्तिम पटकको सुझाव अथवा चेतावी हो । तिमीहरु रुपान्तरण हुनैपर्छ । होइन भने तिमीहरु विरुद्ध लाखौँ मुठ्ठी उठ्ने छन् । युगौँदेखि अन्याय सहँदै आएकाहरु मुक्ती या मृत्युको लडाइ लड्ने वाला छन् । अँ कतिपय फूलहरु आक्रोशित भावमा भन्दै छन्, ‘सुधार है साथी आफूलाई हैन भने हामी तिमीहरुको अन्यायपूर्ण महलमा आगो लगाइदिनेछौँ । तिमीहरुकोे झुटको स्वर्ग चर्लम्मै ढालेर खरानी पारीदिनेछौँ ।’
केही थप्दैपनि छन्, ‘अब निक्कै ढिला भैसकेको छ । तसर्थ वारपारको अन्तिम संघर्ष गरौँ । जातियताको यो लडाइ सफल पारौँ । छुवाछुत प्रथाको नाम निसाना मेटाऔँ । बल्ल अन्याय सहेका ६० लाख बढी फूलहरुले मुक्तिको सास फेर्नेछन् । अनि न्यायपुर्ण नेपाली समाज र विभेद रहित चार जात छत्तीस वर्णको फूलबारी साँच्चैको सुन्दर बन्ने छ ।
पतझर ‘जात प्रथा’ रोग भनिएका प्रियहरु तिमीहरुपनि कुनै कालखण्डमा सुन्दर फूलहरु थियौ । कसैको दुष्प्रभाव अथवा श्रापका कारण तिमीहरु पतझर बन्नु परेको होला भन्ने लाग्छ । तिमीहरु वास्तवमा सून्दर फूल नै हौ । तर, पतझर ‘जात प्रथा’ नामक रोग तिमीहरुको व्यवहार हो । अब व्यवहार परिवर्तन गरेर कर्सैबाट श्रपित आफूमा लागेको कलंकको टिका सधैभरीलाई अन्त्य गर । सबैको प्रिय, सुन्दर र सुगन्ध छर्ने गुलाफ बन । संसारको प्रेरणा र आकर्षण बन ।
वि.सं.२०८२ वैशाख २९ सोमवार १२:१५ मा प्रकाशित