back

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

वि.सं.२०८२ वैशाख २९ सोमवार

294 

shares
IME Limited
NTC AD

 

सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बातालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो । मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाका पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेश सरकारले ढुम्बाताल जोड्नेगरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले पर्यटकलाई ढुम्बाताल पुग्न सहज भएको हो ।

ताल छेउ रेष्टुरेन्ट सञ्चालन गरेकी सनी थकालीले पर्यटकीय याममा दैनिक २०० देखि ५०० सम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिइन् । “विशेषगरी दसैँ तिहार र आैँसी तिथिमा धेरै पर्यटक यहाँ आउनुहुन्छ, अन्य समयमा औसत ४०/५० जनाको हाराहारी पर्यटक आउँछन्”, उनले भनिन्, “बर्सेनि सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेकोे छ ।”

यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बाताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बाताल प्रेम चिह्नका आकारमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिब १३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बाताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ ।

ढुम्बातालबाट नीलिगिरि र धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन् । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बा, कालीगण्डकी करिडोरलगायत जोमसोम, ठिनी, स्याङ, मार्फा, सम्लेलगायत गाउँ आकर्षक देखिन्छन् । यसका अलावा ढुम्बातालबाट मार्फा, जोमसोम, स्याङ, ठिनी र सम्ले गाउँलगायतका स्थानका स्याउबारी तथा उवाखेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउने गर्छ ।

काठमाडौंबाट ढुम्बाताल आइपुगेकी सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको तालमा आइपुग्दा बेग्लै अनुभूति भएको सुनाइन् । “तालतलैया त बेंसीमा छन्, तर त्यहाँ निकै नै कोलाहल हुन्छ”, अवालले थपिन्, “यहाँको प्राकृतिक सौन्दर्यता र रमणीय कोलाहल मुक्त स्थानले बेग्लै संसारमा आइपुगको महसुस भएको छ ।”

ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको इतिहाससँग जोडिएको थकालीको भनाइ छ । उनका अनुसार परापूर्वकालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बौद्ध शिक्षा प्राप्त गरेका थिए । त्यस क्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्र्पोछे)को पाँच रत्न उपहार दिएका थिए । गुरुले पाँच रत्न दिने क्रममा त्यसलाई विशाल हात्तीको सुँढ आकारको पहाड र त्यसको देब्रे दाहिने हिमाल देख्न सकिने, त्यसको तल कालीगण्डकी नदी र उत्तरतर्फ ताल भएको ठाउँमा विराजमान गराउनु भन्ने आदेश दिए । सोही अनुसार ढुम्बातालको छेउमा गुरु पद्यसम्भवको पाँच रत्न कुछ्प तेरङ्गा प्रतिस्थापन गर्नुभएको भन्ने किंवदन्ती छ ।

बौद्ध धर्मको चार हाँगामध्ये निङ्पा धर्मसँग कुछ्प तेर्ङगा गुम्बा र ढुम्बाताल सम्बन्धित रहेको स्थानीय थकालीको भनाइ छ । बर्सेनि कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पूजाआजा चल्दा ढुम्बातालको जल चढाउने गरिन्छ ।

ढुम्बाताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । ताललाई एक्यापअन्तर्गत स्थानीय जोमसोम, ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् । गुरु पद्यम सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ । तालको उत्तरतर्फको भागमा ठूलो सेतो ढुङ्गा अवस्थित छ । त्यहाँ नागदेवताको थान रहेको बताइन्छ । तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हाँसहरु जम्मा हुने गर्छन् ।

पछिल्लो समय प्रदेश, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयवासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिइएको छ । ढुम्बाताल वरिपरि रेलिङसहितको सिँढी बाटो, विश्राम स्थल, हट रुमलगायत विभिन्न सूचनामूलक साइनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।रासस

 

वि.सं.२०८२ वैशाख २९ सोमवार १२:१७ मा प्रकाशित

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर (नवलपरासी) । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

दाङ, प्यूठान र डोटीमा बुद्धिजीवीको भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको जिल्ला सम्मेलन र...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...