Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

तिम्री छोरी बम्बइमा बेचिएकी थिइन आमा !



chanda‘त, हिडेपछि तेरो बा र म धेरै रोएका थियौं, सानै उमेरकी छोरी ! कतै बम्बइ लगेर त बेचेन ?’, बाबा यहि भन्नुहुन्थ्यो, मैले ‘हे भगवान कतैबाट आइदिए हुने नी, भनेर भात पस्कने बेलामा थाल पखालेर पानी टक्टक्याउँदा थालको धारले निधारमा काटेर रगतको धारा लागेको थियो ।’

आमा, राति सुत्ने बेलामा जब तिमीले यी कुराहरु मलाइ सुनायौं अनि मुटु भक्कानियो । कुनातिर फर्केर भक्कानिएर रोए । तिमीले सुनिनौं ! म तिमी सँगको बिछोड हुँदाको दुःखभरी कहानी एकसरो सुनाएर दिनभरीको थकाइ मेट्न भुसुक्कै निदायौं । म धेरैबेर सम्म निदाउनै सकिन त्यो रात ।

हुन त,आमा वितेका यी सबै कुरा सुनाएर कसैलाई मिठो अनि तितो दिन खोजेकी होइन् । सहानुभुति त केवल सहानुभति मात्रै हो, त्यो क्षणिक मात्र हुन्छ । त्यसले कसैको जीवनमा पनि खास अर्थ राख्छ जस्तो मलाइ लाग्दैन् । जीवनमा मेरा लागि तिमीले भोगेको पीडा र मैले बम्बइमा भोगेको अनुभव मात्र भन्न खोजेकी हुँ । यहाँ केबल एउटी आमा र छोरीको एकअर्काप्रतिको मायामात्र जोड्न खोजेकी हुँ । अनि एकअर्काको मायाको सहारा र सम्झनाले बाँच्नको लागि कति आत्मबल दिँदोरहेछ संसारको जुनै कुनामा पुगे पनि भन्ने मात्र देखाउन खोजेकी हुँ ।

आमा, यो समाजले भन्छ, यसले दुःख सबैलाई सुनाएर के पाउँछु भनेकी होली ? के हुने होला ? हो, हाम्रो समाज खुसीमात्र बाड्न चाहान्छ । दुःख सुनाउँदा उल्टै ‘बल्ल खाइस्’ भनेर कुइनो मच्कयाउछ  (बल्ल खाइस)। अनि दुःख सारेर सकेसम्म अरुलाई खुसी बनाउछु भन्ने पनि त सोच्दैन । तर, मेरो सवालमा भने दुःख सुख मानिसको जीवनमा एकअर्काका परिपुरक हुन । यी दुवैको अभावमा मानिस शून्य हुन्छ । त्यसैले त आमा, मन फुकाएर यी सबै लेखेकी हुँ । जीवनमा दुःख र सुख दुई पाटा हुन । यी दुवै मानिसको जीवनमा अनिवार्य छ । कुनैपनि मानिस सुखै सुख, दुःखै दुःख अनि खुसी–खुसीमा मात्रै जीवन बिताएको छैन सम्भवत । हाँसो–रोदन, रोदन–हाँसो यसैगरेर वितेको छ मान्छेको जीवन, सायद प्रकृतिको नियम पनि यहि हो ।

‘छोरीलाई फेरि पढाउनु पर्छ, जा लिएर आइज, गल्ति गरिएछ, सानैमा बिहे गरिदिएर’ भनेर बाबाले आँखाभरी आँसु बनाएर भनेपछि तिमी मलाई लिन पुगेकी थियौं रे, मेरो कर्म घर । जहाँको लागि तिमीले नारनथानको मन्दिरमा टिका लगाइदिएर बिदा गरिदिएकी थियौं । म तिमीसँग छुट्ने बेलामा ‘मेरो दाहिने हात’ भाचियो भनेर बेस्सरी रोएकी पनि ताजै छ मलाई ।

संयोग पनि कस्तो आमा ! जतिबेला तिमी मलाई लिन भनेर मेरो घर गएकी थियौं, त्यहिबेला हामी बम्बइको लागि हिडेका थियौं । तिमी आउने र हामी हिड्ने एकैपटक भएछ । त्यतिबेला आमाछोरीको भेट हुन जुरेको रहेनछ । हामीसँग मुम्बइ जाने बाटो खर्च थिएन । मेरो स्वंयम्बरको औठी बेचेर रेलको भाडा जोहो गरेका थियौं । मेरो नागरिकता पनि बनिसकेको थिएन । २ वर्ष बढी उमेर बढाएर विवाह दर्ता मात्रै गरेर बम्बइ जाने बाटो फुकाएका थियौं हामीले ।

हामीसँगै तिम्रा ज्वाई ठूली आमाको छोरा थिए  । नातामा मैले ‘देवर’ भन्नु पथ्र्यो । सायद प्रवासबाट, हुनुपर्छ हामी बस चढेको । घरबाट बारीका कान्ला र खेतैखेत गोरेटो बाटो हिडेर हामी बस चढेर गोरखपुर हिडेका थियौ । गोरखपुरबाट बम्बइको लागि रेल चढ्नु थियो हामीलाई । त्यसैले कहाँ जानका लागि कुनबस चढियो भन्ने याद भएन् आमा । तर, दुईवटा कुरा चाँहि याद छ, एउटा रेलमा चढ्नुभन्दा पहिले देवर र श्रीमानलाई छेक्न लगाएर रेलको लिगमै पिसाव फेरेको र अर्को रेलमा चढेपछिको कष्टपूर्ण समय ।

रेलको नाम पनि याद छैन मलाई । कता–कता दादरा–बम्बई लेखेको जस्तो लाग्छ । हामी रेलको माथिल्लो भागमा साइड–साइडमा रहेका लामा तर साघुरा सिटमा कोच्चिएर बसेका थियौं । अहिले त कस्तो हुन्छ म मुम्बइ जाने रेल चढेकी छैन् । पक्कै पनि नयाँ सुविधायुक्त सिट भएका रेलहरु आएका छन् होलान् बम्बइ जाने कहिलेकाँही गुगलमा सर्च गरेर पनि हेर्छु ‘रेल, गोरखपुर टु मुम्बई ’ भनेर । त्यतिबेला सम्झना भएसम्म माथिपट्टि सानो सिट थियो । बल्ल–बल्ल अटाएकी थिए म । निदाउँदा पनि डर लाग्थ्यो, तलपट्टि प्यासेजमा निदाएका मानिसहरुमाथि खस्छु की भन्ने । मलाई त्यहाँभित्र टिकट चेकगर्न आउने टिटीले म ‘युवती’ हुँ, भन्ने नचिनुन् भन्ने उद्धेश्यले आफ्नो जकेट लगाइदिएका थिए तिम्रा जवइले । त्यतिबेला श्रीमती भएको प्रमाणै भएपनि सानी केटी भनेर खोजीनिती गर्छन र यात्रामा समस्या हुन्छ भनेर नबोली बस्न पठाएका थिए । यताउती नर्हेन भनेका थिए । आमा। यदि अहिले भएको भए, मलाई ‘बेच्न लैजान थालेको हो की !’ भनेर विद्रोह गर्दै रेलबाट भाग्थे । तर, त्यतिबेला सम्भव थिएन । सोँच पनि त आएन मलाई भाग्नुपर्छ भन्ने अनि उनी जो मेरा जीवनसाथी न थिए त्यसैले ढुक्क भएकी !

गोरखपुरबाट रेल चढ्यौ । राति भइसकेको थियो । रेलको छुक छुकसँगै मेरो धड्कन पनि बढिरहेको थियो विरानो ठाउँमा जाँदैछु सबैलाई छोडेर भन्दै । अर्कोदिन बिहान स्टेशनहरुमा रेल रोक्दा ‘चाय,चाय भनेको मेरो कानमा गुन्जन्थ्यो । म, ओर्लिइन । त्यहि माथिको सिटमै बसिरहे । पानी, खाना के के खाए त्यो अहिले सम्झना भएन । तर, एउटा कुराले भने जीवनभर मुटु खाइरह्यो । जसको साथमा जीवन विताउँछु भनेर जान्दै नजानेको मुम्बइ हिड्न तयार भए । ‘पिसाब लाग्यो’ भनेर धेरैपटक भन्दा पनि उनले लगेनन् । त्यहि रात । पिसाबले पेट पोलिसक्यो, पिसाब सबै फर्केर घाटीमा आउँछकी जस्तो भयो । तर, पनि ट्वाइलेट जान पाइन । ‘पिसाब फेर्न लैजानु न’ भन्दा ‘तल सुतिरहेका मान्छे कुचिन्छ झगडा गर्छन’ भनेर लैजान मानेनन् । हुन तउनले भनेको कुरा पनि ठिक थियो । तर,मानबिय संवेदना उनले बुझेनन् । तर, उनका भाइ (देवर) ले दाइले धेरैपटक भन्दा पनि नमानेपछि ‘हिड्नुहोस् भाउजु म लिएर जान्छु’ भनेर ट्वाइलेट लिएर गए । अनि बल्ल हल्का भयो पेट ।

ट्वाइलेटबाट फर्केर आएपछि खोइ के भयो । मन धेरै रोयो । तपाइहरुको काख छोडेर उनको साथ लागेर गएकी थिए म । उनी नै आफ्ना बन्न खोजेनन् । परिवार छोडेको एक्लोपनमा साथी बनेनन् । न उनले मिठा कुरा गरे, न मुम्बइ पुगेर सुखले बाँच्ने रमाइला सपना बाँडे । न त मुम्बइका बारे नै बताए । न त आफूले पहिले धेरैपटक गरेको यात्राको अनुभव नै सुनाए ।

आमा, बम्बइ जान भनेर रेल चढेर गएपनि तिम्रो  प्यारले कहाँ छोड्यो र सँगै रह्यो विछोडिनुको पीडाले सताइरह्यो हरेकपल ।
सायद २ रात दुईदिन रेलमा यात्रा गरेर हामी बम्बइ पुग्यौं । त्यतिबेला सायद बम्बइको कल्याण थियो होला हाम्रो अन्तिम स्टेशन । हामीलाई त्यहाँबाट मुरवाड भन्ने ठाउँमा जानु पर्नेरहेछ । हामी मुरवाडको लागि बस चढ्यौ ।

मुरवाड पुग्दा बिहानको दस एघार बजेको थियो की सायद ! विहाँनको खाना खान त्यहाँ पुगेकोले अड्कल मात्र काट्न सके । विरानो थियो ठाउँ । त्यहाँ उनीहरु बस्ने कोठामा झण्डै ५–६ जना गाउँकै भाइहरु बस्दारहेछन्   । उनीहरु म जानुभन्दा पहिले सबैले एकै ठाउँमा खाने र सुत्ने गर्दारहेछन्  । म गएको दिनदेखि त्यो कोठा ‘खोली’ हामीलाई छोडिदिएर उनीहरु पारि पट्टीको अर्को कोठामा बस्न थाले ।

आमा, साच्चै विरानो थियो त्यो ठाउँ । पारि पहाड थिए । भर्खर हाम्रो खरबारीको खर काटेर नांगिएको डाडाँजस्तो लाग्थ्यो । ठूला–ठूला विजुलीका पोलहरु देखिन्थे । हामी बस्ने कोठाको अगाडि शितल चिनीको बोट थियो । मराठी भाषामा के थियो त्यसको नाम त्यो त जानिन्, त्यो दालमा पकाएर खान्थे त्यहाँका मान्छेहरुले । म त्यहि शीतल चिनीको फेदमुनी बस्थे । शीतल चिनीको पातसँगै आएको मन्द–मन्द हावा विस्तारै मलाई छोएर जान्थ्यो । अनि आँसु बरर झर्थे आमा । अनि कल्पना गर्थे ‘पारि मेरो माइती भए, बस चढेर त्यहाँ जान सक्ने भए, उनीहरु डिउटी गएको बेला म त्यहाँ पुगेर आमा बाबालाई भेटेर आउथे ।

आमा, मानिसहरु भन्छन, अनि तिमी पनि भन्छ्यौ कहिलेकाँही ! ‘माया तल बग्छ, माथि आउँदैन्, म सधैं तिमीहरुले के खायौं भनेर सोच्छु । तर, एक्लै रहनु भएकी मेरी बुढी आमाले के खाइन् भनेर सोँच नै आउँदैन मनमा ।’ खोइ, आमा तिमीलाई त्यस्तो लाग्यो की या यो सत्य नै हो ! मेरो मानेमा भने त्यो सत्य हो जस्तो लागेन । जतिदिन त्यहाँ बसेपनि हरपल तिमी र बाबाको यादमा विताए ।

आमा, सायद बम्बइ पुगेको झण्डै ५–६ महिनासम्म मैले तिमीलाई चिठ्ठी लेख्न सकिन् । फोन जहाँतही पाइन्नथ्यो, उता पाएर पनि नियमित सम्पर्क गर्न कहाँ पाइन्थ्यो र ? इमेल, फेसबुक, अन्य सामाजिक सञ्जालको त कल्पनै थिएन त्यतिबेला । अझै फिलीम हेर्न मन लागेमा ८० रुपैयाँ आइसी तिरेर एउटा फिल्म हेर्न पाइन्थ्यो भाडामा घरमै डेग ल्याएर । मैले त्यहाँ पुगेर हेरेको पहिलो र अन्तिम फिल्म नै ‘हम आपके हे कौन’ थियो । त्यो भर्खरै लागेको थियो मुरबाडमा हामीले भिडीयो अनि टिभी भाडामा ल्याएर घरमै हेरेका थियौ
ं ।
सुरुमा तिमीलाई चिठ्ठी लेख्न सकिन्, चिठ्ठी लेखेपनि पठाउने कहाँबाट हो भन्ने सुरुमा याद भएन । । मैले त्यहाँ पुगेको ५–६ महिना पछि पठाएको एउटा चिठी पनि बाबाले विस्वास गर्नु भएन भन्थ्यौं तिमीले । ‘तेरा बा ले त, बिचरा त्यसले लेखेको होला र यो चिठ्ठी ! ढाट,े तिनीहरुले भन्दै ओल्टाइ पल्टाइ हेर्थे’ बाबाले भनेको यो कुरा पनि सुनाएकी थियौं तिमीले त्यो रात ।

आमा, जति तिमी मेरो पीडामा उदास हुन्थ्यौ, रुन्थ्यो म पनि त्यति नै रोएकी थिए त्यहाँ । न तिमी र बाबा थियौ, न भाइबहिनी, न मेरा संगीसाथी नत छिमेकी अनि आफ्न्त नै । सबै त छुटेका थिए नि मेरा । चाहे बिहाँनै उदाएर म बसेको घरमाथि आएको घाम होस्, या वर्षातको बेला म बस्ने खोलीको टिनको छानाको धारबाट बलेनीमा धारा बनेर झरेको पानीको आवाज होस् । मलाई लाग्थ्यो, घामले तिमीले पठाएको न्यानो र मिठो मायाको शन्देश बोकेर आएको छ । अनि पानीको तप–तप थोपासँगै तिमीले मेरै सम्झनामा गुन्गुनाएर आँसु झारीरहेकी छौ । अनि त आँखा छोपेर दुर्गुर्दै भित्र कोठामा पुगेर घोप्टो परेर रुन्थे ।

आमा, तिमी र बाबाले मेरो माया मारिसकेका थियौं । बाबाले ‘बम्बइ लगेर मेरो छोरी बेच्यो, ‘विचरा मेराी छोरी’ भनेर रुनुहुन्थ्यो । जसले मलाई बिहे गराइदिनका लागि घरमा केटा लिएर माग्न आएका थिए, उनलाई गाली पनि गर्नुहुन्थ्यो रे । सुख र दःख सँगै साट्ने क्रममा तिमी सुनाउछ्यौ यी कुराहरु आजभोली । परदेशमा जसोतसो जीवन गुजारीरहेकी थिए । तर, म बेचिएकी थिइन्, आमा !

सायद तिम्रो नाति पेटमा बसिसकेको थियो । त्यसैले पनि थकाइ अनि घरको यादसँगै निराशपन छाउथ्यो मनमा । भाउजु भएको नाताले ५–६ जनाका लागि खाना पकाउनु पथ्र्यो । अझै बिहानै ४–५ बजे उठेर डिउटी जानेलाई टिफिन–टिफिन भात दाल राखिदिनु पथ्र्यो । अनि उनीहरु डिउटी गएपछि म एक्लै हुन्थे । धेरैदिनहरु रोएर बित्यो आमा !

त्यहाँ मेरो नजिकै स्याङजा र गुल्मी कालिपारकी दुई दिदीहरु हुनुहन्थ्यो । उहाँहरुले असाध्यै माया गर्नुहुन्थ्यो मलाई । तिम्रा जवइ डिउटी गएका बेला म ती दिदीहरुसँगै बस्थे दिनभरी । उहाँहरुका श्रीमान पनि डिउटी जान्थे ।

नाम त भुले । तर, अहिले पनि खोज्छु ती दिदीलाई । तर, पहिलेका कुनै सम्पर्क म सँगछैन । पछि उहाँहरुसँग भेट्नुपर्छ जहाँपुगे पनि भन्ने चेत न, ममा थियो न ती दिदीहरुमा ।

आखिर ती दिदीहरु जीवनभरका लागि छुटे । कहाँ छन् थाहा भएन । अहिले त जति दिमाग खियाउँदा पनि दिदीको नाम समेत सम्झनामा आउँदैन । ती दिदीले नै मलाई एक्लो अनि बिरानो देशमा आमा र दिदीको माया दिएकी थिइन् । आफ्नो राम्रो सारी चिटीक्क पारेर लगाइदिएर मुरवाडको बजार धुमाउथिन् । बिहानै उठेर चामलको रोटि र पिरो गोलभेडाको चट्नी बनाएर दर्गुदै मलाई लिन जान्थिन् । अनि हातमा समाएर तान्दै भन्थिन् ‘बहिनी, आउनु के, मैले पिरो गोलभेडाको चट्नी र रोटी बनाएर राखेकी छु ।’ हो, आमा ती दिदीले नै बचाएकी हुन् तिम्री छोरी । नभए किन आउँदैनन् त, स्मृतिमा जीवन साथीले गरेको मायाको सम्झना ! किन आउँदैनन् उनले दिएको साथको सम्झना ! किन आउँदैन त उनले किनिदिएको सारीको सम्झना ! किन आउँदैनन् उनले कमाएर जोडिदिएको गहनाको सम्झना ! अनि किन आउँदैनन् त उनले माया गरेर परदेशमा दिएको आत्मबल र हिम्मतको सम्झना ! हो आमा ती कुनैपनि साथहरु थिएनन् मसँग । त्यसैले त्यस्तो बेलामा तिम्रो सम्झना, प्यार अनि ती दिदीको मायासँगैको चामलको रोटीको सहाराले त बाँच्न सकेकी थिए म नबेचिएकोले ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर