काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रचार गरिएको समाचार तथा सामग्रीप्रति पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संयोजक प्रचण्डको सचिवालयका तर्फबाट आइतबार जारी प्रेस विज्ञप्तिमा ती समाचारहरू तथ्यहीन, चरित्रहत्या गर्ने र नियोजित रुपमा प्रवाह गरिएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, “संकटको आजको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले गरिएका यस्ता तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीप्रति हामी खेद प्रकट गर्दै कडा शब्दमा भत्र्सना गर्दछौं।”
प्रेस नोटमा सञ्चारको स्वतन्त्रतासँगै कानुनी तथा नैतिक दायित्व पनि पालना गर्नुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, केही सञ्चार माध्यमहरूले समाचार तयार गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोणको बेवास्ता गरी एकतर्फी, पूर्वाग्रही र प्रायोजित विवरण प्रस्तुत गरेको देखिएको छ, जुन गम्भीर र आपत्तिजनक भएको बताइएको छ ।
सचिवालयले प्रचण्डको निवासबाट ‘जेन जेड आन्दोलन’ अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएकोजस्ता दाबीहरू प्रमाणसहित पुष्टि गर्न चुनौती दिएको छ ।
त्यस्ता असत्य र भ्रामक सामग्रीहरू डिजिटल माध्यममार्फत् प्रवाह हुनु साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्री प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक र प्रसारक पक्षमाथि नै पर्ने चेतावनी दिँदै, आम जनतालाई भ्रामक प्रचारप्रति विश्वास नगर्न माओवादी केन्द्रले अपिल गरेको छ ।
वि.सं.२०८२ असोज २६ आइतवार १३:५६ मा प्रकाशित




























