काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिलक कलेज (केएमसी)को आईसीयूमा भर्ना भएका छन् ।
अस्पताल स्रोतका अनुसार उनको मिर्गौलामा समस्या देखिएको छ । उनलाई तिहार अघिदेखि आईसीयूमा राखेर उपचार गरिएको छ । गत जेठ १४ गते कारागारबाट छुटेका आलमको स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरी त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो ।
अहिले उनको स्वास्थ्यावस्था स्थिर रहेको जानकारी अस्पतालले दिएको छ ।
वि.सं.२०८२ कात्तिक १२ बुधवार १३:१७ मा प्रकाशित


























