मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
सबैले भन्थे—“यस स्थानमा शान्ति छ।”
कथन अनुरूप, उसले पनि पहिलो पलमै शान्तिको अनुभव गर्यो । मनमा हल्का शीतलता छायो, तर एकाएक उसको मनमा तीक्ष्ण जिज्ञासाको काँडा गड्यो।
“आखिर किन यस्तो अनुभूति?”
उसका आँखाले वरिपरि खोतल्न थाले । कुनै चिरबिर थिएन, न त कुनै सुस्केरा । वातावरण यति जड थियो, मानौं समय नै थामिएको । यहाँसम्म कि आफ्नै सास पनि भारी लाग्न थाल्यो ।
“के यो शान्ति हो?” उसले मनमनै सोध्यो ।
“कि केवल जीवन विहीन मौनता?”
हृदयको शून्यताबाट एक हल्का प्रतिध्वनि निस्कियो–
“यो शान्ति होइन । यहाँ त आवाजहरू मरेका छन्।”
वि.सं.२०८२ कात्तिक २२ शनिवार ११:१४ मा प्रकाशित




























