दाङ । साहित्यकार महेश्वर शर्माको दोस्रो कृति ‘कृष्ण र कंसको संवाद’ खण्डकाव्य घोराहीमा लोकार्पण गरिएको छ ।
राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको थियो ।
खण्डकाव्यमा महाभारतकालीन पात्र र प्रवृत्तिलाई अहिलेको प्रसंगमा जोडेर गलतका विरुद्ध तिखो प्रहार गरेको वक्ताहरूले बताए ।
अहिलेको समाज तथा विकृतिका विरुद्धमा पुस्तकले उचित धारणा बनाउन मद्दत गर्ने उनीहरुको भनाइ थियो । पुस्तकका ७२ पृष्ठमा रहेका सामग्रीले पौराणिकताको झल्को दिए पनि विषय अहिलेका समेटिएको समीक्षक साहित्यकार पद्मप्रसाद शर्माको भनाइ थियो ।
उनका अनुसार पुस्तक पठनीय, रोचक र ज्ञानवर्धक छ । सग्रहणीय र पटक–पटक पढ्न मन लाग्ने खालको छ । खण्डकाव्यमा नयाँ प्रयोग पनि हो । शीर्षक नहालेर लेखिन्छन् तर यसरी खासै लेखिएका थिएनन् ।
यसअघि ‘विश्व परिवेशलाई नियाल्दा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित गर्नुभएका साहित्यकार शर्माको यो दोस्रो कृति हो । उनले अझै दुईवटा कृति प्रकाशनको तयारीमा रहेको बाँकी केही डायरीमा राखिएको जानकारी दिए । स्यार्पु बहुमुखी क्याम्पस बाँफीकोट रुकुम पश्चिमका सेवानिवृत्त क्याम्पस प्रमुख शर्माले लेखिरहने प्रतिबद्धता जनाए । बाँकी जीवन लेख्ने र प्रकाशन गर्नेमा बिताउने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ केन्द्रका निवर्तमान अध्यक्ष विपुल पोखरेल राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा राति साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्य दिनुभएको थिए । उनका सुपुत्र टङ्क लम्सालले धन्यवाद मन्तव्य दिएका थिए ।
वि.सं.२०८२ कात्तिक २३ आइतवार २१:४२ मा प्रकाशित




























