मन्दिरा चापागाईं
सभापोखरी –१, संखुवासभा
“निकै घोरिएर बाहिर हेर्नुभयो त, म्याम?“– सहकर्मीको जिज्ञासा ।
“त्यहाँ पार्कमा मेरो छिमेकी दाइ जस्तो देख्छु।“– मेरो उत्तर ।
“अनि के भयो त?“ – उनी जिज्ञासु ।
“एकजना अधबैंसे महिलासँग नारिएर फोटो खिच्दै हुनुहुन्छ।“
“अनि?“
“ती महिला भाउजु होइनन् के ?“– मेरो स्पष्टिकरण ।
“त्यस्तै हो । म नि निकैबेर कम्प्युटरमा घोरिइरहेको थिएँ ।“ उनको अप्रासङ्गिक उत्तर ।
“अनि के भयो त,?“ प्रश्न गर्ने पालो मेरो ।
“sale लेखिरहेको थिएँ, तर किन ‘साले’ लेखेँ भन्दै रनभुल्लमा परेँ।“
“यो कुरा र त्यो फोटोको बिच के सम्बन्ध? धेरैबेर एउटै काममा घोरिनु पर्दा त्यस्तै देखिन्छ नि,“ मेरो कौतुहलता र स्पष्टिकरण ।
“छिमेकी दाइहरू त्यहीँ हुनुहुन्छ कि गईसक्नु भएछ ?“ उनको प्रसङ्ग मोडियो ।
“ नचिनेका मान्छेको किन चासो नि ?“– मेरो अलि झर्काइ ।
“जसरी म कम्प्युटरमा एकोहोरो बसेँ अलमलिएँ, उठेँ रिफ्रेश हुन, त्यस्तै वहाँले पनि एकपल अर्की साथीसँग रिफ्रेश हुन पाउनुभयो होला नि,“ उनी मुस्कुराइन् ।
“रिफ्रेस त अन्तर्मनबाट हुनु पर्ने हैन र ? त्यसरी सार्वजनिक रूपमा अरूको माध्यमले रिफ्रेश हुनु उचित हो र?” मेरो आक्रोस,
मौनता छायो, कम्प्युटरको पर्दा उज्यालो थियो, तर मनभित्र अँध्यारो र एकोहोरो घेरा फैलिएको थियो।
वि.सं.२०८२ कात्तिक २९ शनिवार ०५:४० मा प्रकाशित




























