नेपालको राजनीतिक संस्कृतिले पछिल्ला वर्षहरूमा एक रोचक तर गम्भीर प्रवृत्ति विकास गरेको छ। राजनीतिक पार्टिहरुको नीति, विचार र चरित्रमा आधारित एकीकरणभन्दा नेतृत्वको तत्कालीन नाफा-नोक्सान र सत्ता-शक्ति सन्तुलनले निर्धारण गर्ने गरेको छ। एकता वा एकीकरण नेताहरुको आत्म-रक्षा र पार्टिको अस्तित्वको औचित्य पुष्टिमा सीमित भइरहेको छ।
२० औँ शताब्दीका प्रभावशाली जर्मन दार्शनिक र समाजशास्त्री जुर्गेन हाबर्मासका अनुसार, जहाँ संवाद क्रमशः रणनीतिक बन्छ, त्यहाँ सत्यभन्दा स्वार्थ बोल्न थाल्छ। लोकतन्त्र तब मात्र बलियो हुन्छ, जब नागरिकहरू जानकारीयुक्त, स्वतन्त्र, र आलोचनात्मक बहस गर्न सक्षम हुन्छन्। तर नेपालको सन्दर्भ भिन्न छ। यहाँ निर्णय कुनै व्यक्ति वा नेताहरूको सानो घेराले गर्छ। बाकी संरचना, कार्यकर्ता र सदस्यहरू बिना प्रश्न लखर-लखर त्यही निर्णय पछ्याउन बाध्य हुन्छन्।
दलाल पूँजीवाद, बजारको विस्तार एवं अधिपत्य र सामाजिक सञ्जालको विकाससँगै आलोचनात्मक चेतना क्रमशः उपभोक्तावादले बन्ध्याकृत गरिदियो। अवसर, सुरक्षा, र शक्ति आर्जन जस्ता लोभहरूले कार्यकर्ताहरूलाई विस्तारै राजनीतिक दासत्वतर्फ धकेल्दै लगेको छ। यही अवस्था अहिलेको नेपालको राजनीतिको प्रमुख समस्या बनेको छ।
इतिहासको डोबहरु मेटाउँदै नेतृत्वमा उठाइनेहरूप्रति कार्यकर्ताको मौन प्रश्न हुन्छ- नेतृत्वको उत्पत्ति संघर्ष हो कि संरचना? नेता जन्मिन्छ कि बनाइन्छ? नेता संघर्षबाट तयार हुन्छ कि समीकरणबाट थोपरिन्छ? नेपाली राजनीतिक दलहरुको एकिकरणमा नेतृत्व संघर्ष र सिद्धान्तबाट होइन, सम्झौताबाट जन्मिन्छ। व्यक्तिगत योग्यताभन्दा पनि संरचनागत व्यवस्थाले नेतृत्व तय गर्छ। संघर्षबाट आएका नेतालाई अवसरवादीहरूले विस्थापित गर्दा कार्यकर्ताले गहिरो पीडा पिडावोध हुने गर्दछ।
इटालीका राजनीतिक यथार्थवादी दार्शनिक म्याकियावेलीका अनुसार, मानिस स्वभावतः स्वार्थी, परिवर्तनशील र अविश्वसनीय हुन्छ। मानिसले आफ्नो फाइदा देखेमा साथ दिन्छ, फाइदा हरायो भने तुरुन्तै साथ छोड्दछ। स्वार्थ, डर र अवसरले नै मानिसको व्यवहार निर्धारण गर्छ। राजनीतिक दल र त्यसको नेतृत्व राजनीतिक दर्शन, सिद्धान्त र दीर्घकालीन रणनीतिबाट अलगिँदै जाँदा, म्याकियावेलीका यी भनाइहरू अझै व्यवहारिक रूपमा लागू हुन थाल्छन्।
राजनीतिक गठबन्धन, मोर्चा र सहकार्यहरू स्वभावतः रणनीतिक हुन सक्छन्। तर जब दुई वा सोभन्दा बढी दलहरू एकीकृत हुन्छन्, तब सुरु हुन्छ कार्यकर्ताहरूका दुःखका दिन। किनकि एकीकरणले शीर्ष नेताहरूलाई सुरक्षित बनाउँछ, तर आधारभूत संरचना र कार्यकर्ताहरूमा अविश्वास, पद-भागबण्डा, पहिचान संकट, र भूमिका अनिश्चितता सिर्जना गर्छ।
राजनीतिक दलका कार्यकर्ताहरू पाँच प्रकारका हुन्छन्: पहिलो- नेतृत्वलाई देवत्वकरण गर्ने र आफ्नो बुद्धि विवेक प्रयोग नगर्ने पूर्ण भक्तियुक्त सच्चा झोले कार्यकर्ता। दोस्रो, बुद्धि चलाए पनि सबै निर्णय निजी वा समूहगत स्वार्थअनुसार गर्ने अवसरवादी कार्यकर्ता। तेस्रो, पार्टीप्रति भावनात्मक रूपमा बाँधिएका मौन असन्तुष्ट, जो असहमत भए पनि छाड्न नसक्ने समूह। चौथो, जे भए पनि आलोचना मात्र गर्ने तर पार्टीबाट अलगिन नसक्ने स्थायी आलोचक। पाँचौँ, विवेकी, मूल्य-केन्द्रित, आलोचनात्मक चेत भएका र व्यक्ति भन्दा दर्शन र सिद्धान्तलाई प्राथमिकता दिने सचेत कार्यकर्ता।
राजनीतिक दलहरूबीच हुने एकता वा उच्च तहको सहमति प्रायः तल्लो संरचनासँग संवाद नगरी गरिन्छ। केन्द्रिय स्तरमा पनि नेताहरुलाई केवल साक्षी मात्र बनाइन्छ। यस्ता एकतामा विचारधाराको निकटता भन्दा सत्ताको सम्भावना, पद-व्यवस्थापन, वा संकटबाट निस्कने छोटो उपायलाई प्राथमिकता दिइन्छ। यस्तो अवस्थाले हिजोसम्म “अयोग्य”, “अविश्वसनीय” वा “चरित्रगत प्रश्न उठाइने” मानिसहरूलाई अचानक दलको केन्द्रीय नेतृत्वमा पुर्याइदिन्छ। गाउँबस्तीमा हिजो साँझसम्म फटाहा, धूर्त, स्वार्थी र सामाजिक रूपमा बद्नाम ठानिएका व्यक्ति भोलिपल्टै आफ्नै नेता मान्नुपर्छ। तिनै व्यक्तिका गलत क्रियाकलापविरुद्ध आवाज उठाइरहँदा एकाएक उनीहरू निर्देशन दिने हैसियतमा आउँछन्। त्यही क्षणबाट पाँचौँ प्रकार कार्यकर्ताहरूको दुःखको दिन सुरु हुन्छ।
आफूले रगत-पसिना बगाएर बनाएको पार्टी संरचना बिग्रँदै गएको देखिन्छ। वर्षौँको मेहनतले उब्जाएको बाली खहरेले बगाएको जस्तै पीडा हुन्छ। यस्तो परिवेशमा व्यक्तिगत असहमति संस्थागत निर्णयको अगाडि गौण र मौन हुन्छ। सच्चा कार्यकर्तामा उत्साह होइन, निराशा छाउने गर्छ।
नेपालको पार्टी राजनीतिमा “हिजो के भनियो?” भन्दा “आज के निर्णय भयो?” ठूलो मानिन्छ। हिजोका खलनायकहरू अचानक नायकका रूपमा देखिन थाल्छन्। यस्तो अवस्थामा राजनीतिक नैतिकता कमजोर हुन्छ, र उत्तरदायित्व हराउँदै जान्छ। मूल्य-आधारित राजनीति गर्ने कार्यकर्ताको उत्साह मर्छ। आफैँले आशा र भरोसा गरेको पार्टीभित्र आफैँमाथि श्राद्ध गर्नुपरेजस्तो अनुभूति हुन्छ।
यहाँ एक गम्भीर प्रश्न उठ्छ- “नेतृत्वले राजनीति बनाउँछ कि राजनीतिक समीकरणले नेता बनाउँछ?” जब समीकरणले नेतृत्व निर्धारण गर्छ, त्यसले सार्वजनिक भरोसा घटाउँछ। कार्यकर्ताको मनोबल कमजोर हुन्छ। आन्तरिक लोकतन्त्र क्षीण हुन्छ। दीर्घकालीन वैचारिक स्थिरता खल्बलिन्छ। राजनीतिक विचारले आफ्नो बाटो छोडेपछि राजनीति केवल सत्ता र स्वार्थको खेलमा परिवर्तित हुन्छ।
नेपालमा बढ्दै गएको अवसरवादले केवल राजनीतिक संस्कृतिलाई मात्र होइन, मानव निष्ठा, चरित्र र नैतिकताबारे पनि गहिरो दार्शनिक प्रश्न उठाएको छ। राजनीतिमा विचारभन्दा “उपयोगिता” मुख्य मापदण्ड बन्न थाल्छ। हिजो ‘कुरूप’ पात्र ठानिएका व्यक्ति आज ‘सुन्दर’ नेताको रूपमा स्थापित हुन्छन्।
नेतृत्व मूलतः नैतिक गुण- चरित्र, विवेक, संयम र न्यायमा आधारित हुनुपर्छ। संघर्षको मैदानबाट खारिएर आउनु पर्दछ। तर आधुनिक दलगत संरचनामा नेतृत्व योगदान र नैतिकताबाट होइन, समीकरण, संख्या र सत्ताबाट प्रमाणीकरण हुन्छ। यसले अरिस्टोटलले भनेको ‘श्रेष्ठ नेता’ (virtuous leader) को अवधारणा आजको राजनीतिक व्यवहारमा कति असहज रूपमा विस्थापित भएको छ भन्ने स्पष्ट हुन्छ। जब कार्यकर्ताले हिजो उठाएका प्रश्न आज मौन रहन बाध्य हुन्छन्, त्यो केवल राजनीतिक अनुशासन हुँदैन। त्यो अन्तर्मनमा उठ्ने नैतिक द्वन्द्वको दमन हो।
यसरी राजनीतिक दलले व्यक्ति- चेतनामा “दुई तहको सत्य” निर्माण गर्छ- आन्तरिक सत्य (हिजोको आलोचना) र आधिकारिक सत्य (आजको स्वीकार)। दर्शनमा यसलाई संज्ञानात्मक असंगति (cognitive dissonance) भनिन्छ। जहाँ दुई विपरीत विश्वासहरू एकै चेतनामा एकसाथ बस्न बाध्य हुन्छन्। असत्य सत्यमा साटफेर हुँदा हुने पिडाले ल्याउने मनोबैज्ञानीक उल्झन कार्यकर्ताहरुको दु:ख हो।
इतिहासको डोबहरु मेटाउँदै नेतृत्वमा उठाइनेहरूप्रति कार्यकर्ताको मौन प्रश्न हुन्छ- नेतृत्वको उत्पत्ति संघर्ष हो कि संरचना? नेता जन्मिन्छ कि बनाइन्छ? नेता संघर्षबाट तयार हुन्छ कि समीकरणबाट थोपरिन्छ? नेपाली राजनीतिक दलहरुको एकिकरणमा नेतृत्व संघर्ष र सिद्धान्तबाट होइन, सम्झौताबाट जन्मिन्छ। व्यक्तिगत योग्यताभन्दा पनि संरचनागत व्यवस्थाले नेतृत्व तय गर्छ। संघर्षबाट आएका नेतालाई अवसरवादीहरूले विस्थापित गर्दा कार्यकर्ताले गहिरो पीडा पिडावोध हुने गर्दछ।
दर्शनले नैतिक प्रश्नलाई परिस्थितिले होइन, मूल्यले निर्देशित गर्नुपर्ने अपेक्षा गर्छ। तर नैतिक रिक्तता (moral vacuum) बोकेको व्यक्तिले कसरी कसैको हितमा नेतृत्व गर्न सक्छ? त्यस्तो नेतृत्व न मूल्यमा आधारित हुन्छ, न कार्यकर्ताको चेतनामा। नेपाली राजनीति समीकरण र सत्ताको खेलमै घुमिरहन्छ। यो पनि कार्यकर्ताको ठूलो पीडा हो।
यी दुःखबाट मुक्ति पाउन कार्यकर्ताले आफ्नो ईमानदारिता, जुझारुपन र प्रतिबद्धता अझै प्रज्वलित गर्नुपर्छ। दर्शन र विचारमा निखार ल्याउनुपर्छ। आलोचनात्मक चेत सक्रिय राख्नुपर्छ। भुइँमानिसलाई केन्द्रमा राखेर सम्झौताविहीन संघर्ष आजको आवश्यकता हो। अबको समय मालिक फेर्ने प्रणालीबाट बाहिर निस्केर, मालिक बन्ने र नेतृत्व निर्माण गर्ने संस्कृतिमा क्रियाशील हुने। चेतना जागोस्।
वि.सं.२०८२ मंसिर ८ सोमवार ०८:२५ मा प्रकाशित




























