काठमाडौँ । समानुपातिकतर्फको पछिल्लो मत परिणामअनुसार सातै प्रदेशको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक तथ्याङ्कले मुख्य राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा भएको देखाएको छ भने केही नयाँ दलहरूको उदयले परम्परागत दलहरूको मत आधारमा उल्लेख्य प्रभाव पारेको विश्लेषण गरिएको छ ।
बागमती र लुम्बिनीमा नेकपाको अपेक्षाकृत मत
नेपाली कम्युनिस्ट पार्टी (तारा) का लागि यस पटकको नतिजा मिश्रित देखिएको छ । बागमती प्रदेशमा १ लाख ८८ हजार १८२ मत र लुम्बिनी प्रदेशमा १ लाख ५५ हजार २४२ मत प्राप्त गर्दै पार्टीले यी प्रदेशमा राम्रो उपस्थिति देखाएको छ ।
तर गण्डकी प्रदेशमा भने पार्टी निकै कमजोर देखिएको छ । त्यहाँ ५७ हजार ८७६ मत मात्रै प्राप्त भएको छ । कर्णाली र मधेस प्रदेशमा पनि पार्टीको उपस्थिति औसत स्तरमै सीमित रहेको देखिन्छ।
अधिकांश प्रदेशमा रास्वपाको अग्रता
तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश प्रदेशमा अग्रस्थान कायम गरेको छ । बागमती प्रदेशमा ११ लाख ११ हजार तथा मधेस प्रदेशमा १३ लाखभन्दा बढी मत ल्याउँदै यसले आफ्नो प्रभाव विस्तार गरेको छ।
कर्णाली प्रदेश बाहेक अन्य ६ प्रदेशमा रास्वपा समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनेको छ। सहरी तथा अर्धसहरी क्षेत्रमा देखिएको घण्टीको लहरले परम्परागत दलहरूलाई चुनौती दिएको विश्लेषण गरिएको छ।
काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
नेपाली काँग्रेस र नेकपा एमालेबीच पनि धेरै प्रदेशमा कडा प्रतिस्पर्धा देखिएको छ। काँग्रेस कर्णाली प्रदेशमा १ लाख ४१ हजार मतसहित पहिलो स्थानमा रहन सफल भएको छ।
एमालेले कोशी प्रदेशमा २ लाख ८८ हजार मत ल्याउँदै काँग्रेससँग कडा प्रतिस्पर्धा गरेको देखिन्छ। बागमती र लुम्बिनी प्रदेशमा पनि यी दुई दल दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धामा देखिएका छन्।
राप्रपा र क्षेत्रीय दलहरूको पनि उपस्थिति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती र लुम्बिनी प्रदेशमा उल्लेखनीय मत प्राप्त गरेको छ। लुम्बिनीमा ८० हजार र बागमतीमा ७६ हजार मत ल्याउँदै पार्टीले आफ्नो उपस्थिति कायम गरेको छ।
यस्तै, कोशी प्रदेशमा ‘श्रम संस्कृति पार्टी’ ले २ लाख ९२ हजार मत ल्याएर सबैलाई चकित पारेको छ। मधेस प्रदेशमा जसपा र जनमत पार्टीको प्रभाव देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीजस्ता क्षेत्रीय दलहरूको उपस्थिति देखिएको छ।
किन कमजोर देखिए परम्परागत कम्युनिस्ट दल ?
विश्लेषकहरूका अनुसार मतदातामा नयाँ विकल्पप्रतिको चाहना बढ्नु यसको प्रमुख कारण हो। विशेषगरी युवा मतदाताले सुशासन, पारदर्शिता र प्रभावकारी कामलाई प्राथमिकता दिन थालेको देखिन्छ।
पार्टीभित्रका विगतका विभाजन, सत्ताको जोडघटाउ तथा संगठनभित्रको असन्तुष्टिले पनि कम्युनिस्ट दलहरूको मत आधार कमजोर बनाएको बताइन्छ।
काँग्रेसको नतिजा अनपेक्षित
नेपाली काँग्रेसले संगठन सुधार र नयाँ अनुहार ल्याउने प्रयास गरेको दाबी गरे पनि त्यसको प्रभाव मत परिणाममा स्पष्ट देखिन सकेको छैन।
नेतृत्वप्रति असन्तुष्ट मतदाताको एक हिस्साले नयाँ विकल्पतर्फ आकर्षित भएको देखिन्छ। साथै, आन्तरिक गुटबन्दी र नयाँ मतदातालाई आकर्षित गर्ने स्पष्ट कार्यक्रमको अभावले काँग्रेसलाई चुनौती थपिएको विश्लेषण गरिएको छ।
वि.सं.२०८२ फागुन २८ बिहीवार १७:४४ मा प्रकाशित





























